समाज

साउनमा गएको पहिरोले अवरुद्ध सडक अझै खुलेन

तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरो नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ। वर्षाका कारण गत असार साउनमा गएको पहिरोले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको हो।  

शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिरोले बाटो भत्किएको छ। गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताए। पहिरोले बाटो अवरुद्ध हुँदा देवघाट गाउँपालिका–२ र देवघाट गाउँपालिका–३ का जनता प्रत्यक्ष प्रभावित भएका छन्। “सडकको ठाउँ–ठाउँमा पहिरो गएको छ, पहिरा हटाउन गाउँपालिकाले चासो देखाएन”, उनले भने, “त्यसको मार अहिले दसैँमा जनताले बेहोरेका छन्।”

गाउँपालिकाले उक्त मार्गलाई गत भदौ अन्तिमभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए पनि काम नभएको उनको गुनासो छ। “जनप्रतिनिधि संवेदनशील नभइदिँदा त्यसको प्रत्यक्ष पीडा नेपालीको महान् पर्व दसैँमा भएको छ। दक्षिणभेगका जनता दसैँ मान्न घर आउँदा घण्टौँ हिँड्नुपरेको छ”, उनले भने। चितवन, नवलपुरलगायतका ठाउँबाट पुख्र्यौली घर फर्किएका स्थानीयवासी जोखिम मोलेर गन्तव्यतर्फ गइरहेका छन्।  

गण्डकी प्रदेश सरकारमार्फत उक्त सडकखण्डका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। “गाउँपालिकाले दसैँलाई मध्यनजर गरी यो बाटो खुलाउने पहल गर्नुपथ्र्यो, जनप्रतिनिधि भनेको जनताको सेवाका लागि होइन र ?” उनले प्रश्न गरे। 

प्रकाशित: २७ आश्विन २०७८ ०२:२८ बुधबार

देवघाट गाउँपालिका दसैं