समाज

मुगु बस दुर्घटनाका २३ जना मृतकको सनाखत, मुगु जिल्ला पूरै शोकमग्न

मुगुको बस दुर्घटनामा परी मृत्यु भएका मृतक ३२ जना मध्ये अहिलेसम्म २३ जनाको मात्र सनाखत भएको छ। जिल्ला अस्पताल मुगुमा अहिले सनाखत गर्ने काम भइरहेको अस्पतालमा खटिएका स्थानीय अगुवा तिलक मल्लले जानकारी दिए।

‘दुर्घटनामा मृत्यु भएका २३ जनाको सनाखत भइसकेको छ, अझैपनि सनाखत गर्ने काम अहिले चलिरहेको छ,’ उनले नागरिकसँग टेलिफोनमा भने, ‘अधिकांस मृतक छायाँनाथ रारा नगरपालिकाकै रहेका छन्।’ मृतकको सनाखतका लागि ठूलो संख्यामा अहिले स्थानीय बासिन्दा जम्मा भएका छन्।  

मल्लका अनुसार छायाँनाथ रारा निवासी अन्दाजी ३८ वर्षका प्यारीलाल कामीको सनाखत भएको छ। उनकी श्रीमतीको पहिचान भएपनि नाम खुल्न सकेको छैन। यस्तै सोही ठाउँकी २८ वर्षीया अमृता शाही, उनको ७ वर्षका बच्चासहित २३ जनाको अहिलेसम्म सनाखत भएको मल्लले बताए। मुगुमा रहेका अन्य ५ जना मृतकको सनाखत हुन नसकेको उनले जानकारी दिए। नेपालगन्जमा रहेका चार जना मृतकको पनि सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।  

‘मृतकका आफन्त आएर आफ्नो मान्छेलाई चिन्ने र प्रहरीले सनाखत गर्ने काम अहिले चलिरहेको छ,’ उनले भने, ‘अचम्मको कुरा त के छ भने यति ठूलो दुर्घटनामा पनि एक जना बच्ची बाच्न सफल भएकी छन्, उनलाई टाउको र हातमा सामान्य चोट छ।’ दुर्घटनामा बाच्न सफल ७ वर्षीया भुमिका खड्का हुन्।

मुगु जिल्ला पूरै शोकमग्न  

दसैँको मुखमा बस दुर्घटनामा परी एकैपटक ३२ जनाको मृत्यु भएपछि मुगु जिल्ला पूरै शोकमा डुबेको छ। आफन्तहरुमा रुवाबासी मच्चिएको छ। ‘मुगु जिल्ला पूरै शोकमा डुबेको छ, दसैँको मुखमा भएको यो कहालीलाग्दो घटनाले सबैको मन रोइरहेको छ, भित्रबाट भक्कानो छुटेर आउँछ, हामीलाई मन सम्हाल्नै गाह्रो भइरहेको छ,’ मल्लले भने।  

उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुष्टी गरिसकेको छ। सुर्खेतबाट मुगु जादै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाटपाने खोलामा दुर्घटनामा परेको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआइजी गणेशबहादुर ऐरका अनुसार २४ जनाको घटनास्थलमा, चार जनालाई उपचारका लागि घटनास्थलबाट विमानस्थल पुर्याउँदै गर्दा र थप चार जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: २६ आश्विन २०७८ १४:२६ मंगलबार