समाज

'अव ढुक्कले दशैं मनाउन पाइने भयो’

तस्बिर: बराहताल गाउँपालिका–६ स्थित इखेनीका स्थानीयलाई दशैंको अवसर पारेर खाद्यान्न वितरण गरिदैं ।

बराहताल गाउँपालिका–६ इखेनीकी हाँसी विकको छ जनाको परिवार छ। श्रीमान रामबहादुर आयआर्जनका लागि भारतको कालापहाड जान्थे। कालापहाडमा बगाएको पसिनाले घरको चुल्हो बाल्न सजिलो हुन्थ्या। तर कोरोना संक्रमणका कारण कालापहाडको रोजगारी गुम्यो। यसै वर्षको तीन महिनाअघि रोजगारको खोजिमा पुनः कालापहाड गएका रामबहादुर रित्तोहात दशैंमा घर फर्किए।  

इखेनी २०६२ देखि अस्तित्वमा आएको हो। तत्कालीन बिद्रोही माओवादीले बन फाँडेर बसाएको यो बस्ती शिक्षा, स्वास्थ्य, सिंचाई, सडकलगायत आधारभूत आवश्यकतादेखि टाढा छ। कालापहाडमा मजदूरी नगर्दासम्म इखेनीमा चुल्हो बल्दैन्। ‘लाला–बाला लगेर कालापहाड जान्थ्यौ, दशैं र नयाँ वर्षमा फर्किन्थ्यौं,’ स्थानीय भूवन नेपालीले भने, ‘कोरोनाले कालापहाड जान पाएका छैनौं, गएका पनि काम नपाएर रित्तो हात फर्किएका छन्।’

अघिल्लो वर्षजस्तै टीका मुछ्न अक्षतासमेत पाइन्नकी भन्ने चिन्तामा रहेको इखेनीलाई रोटरी क्लव सुर्खेतले दशैंका लागि आवश्यक खाद्यान्न बस्तीमै पुर्‍याएर वितरण गरेको छ। ‘अव ढुक्कले दशैं मनाउन पाइने भयो,’ इखेनीकी कौशीला विकले भनिन्, ‘अघिल्लो वर्ष घरमा अक्षता बनाउने पनि चामल थिएन्, यो पटक दशैंका लागि आवश्यक सबै खाद्यान्न बस्तीमै आइपुग्यो।’

रोटरी क्लवले इखेनीका ९० घरलाई एक–एक बोरा चामल, १० किलो पिठो, दुई किलो नुन, दाल, तेल, चिनीलगायत उपलब्ध गराएको छ। ‘दशैंमा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने योजना अनुसार यो पटक हामीले इखेनी बस्तीलाई रोज्यौं,’ नोमिनी प्रेसिडेन्ट हर्षविक्रम खड्काले भने, ‘साँच्चै इखेनीलाई सहयोगीहरुको खाँचो रहेछ।’ इखेनीमा विभिन्न ११ जिल्लाका बिपन्न नागरिकहरुलाई ल्याएर राखिएको छ। भखरै सडक पुगेको छ। गाडी गुडेका छैनन्। नजिक बजार छैन्। रोजगारीका अरु माध्यम छैनन्। जमिन छ, सिंचाई छैन्।  

‘त्यसैले यहाँ दशैं र नयाँ वर्षमा मात्रै घरभरी मानिस देखिन्छन्,’ स्थानीय हर्क टमटाले भने, ‘अरु बेला लाला–बालासहित हामी कालापहाडमा हुन्छौं।’ अघिल्लो वर्षदेखि इखेनीलाई डा. नवराज केसीले जिम्मा लिएका छन्। घर–घरलाई कुखुरा वितरण गरेका छन्। विभिन्न समाजिक संघ–संस्थालाई इखेनीसँग जोडेका छन्। डा. केसीकै पहलमा रोटरी क्लव सुर्खेतले बस्तीमै पुगेर खाद्यान्न वितरण गरेको हो।

प्रकाशित: २६ आश्विन २०७८ ०७:१६ मंगलबार

दशैं आयआर्जन