समाज

बागेश्वरी मन्दिरको समाचार संकलन गर्न रोक

पश्चिम नेपालको प्रसिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरका विषयमा समाचार संकलन गर्नमा मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले रोक लगाएका छन्। हिन्दुहरुको महान चाड बडादसैंको अवसरमा मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भिड बढेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई उनले रोक लगाएका हुन्।

समाचार संकलन गर्न मन्दिर पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार जे. पाण्डे, सविता जिसीमाथि महन्त योगीले सोमबार बिहान रोक लगाएका थिए। उनीहरु बिहान ७ बजेको कान्तिपुर टेलिभिजनको समाचारका लागि मन्दिर परिसरबाट प्रत्यक्ष प्रशारण गर्न भनि त्यहाँ गएका थिए। प्रत्यक्ष प्रशारण गर्ने तयारीका लागि क्यामेरा खोल्दै गर्दा महन्तले पत्रकाारिता पेशालाई तथानाम गाली गर्दै मन्दिर परिसरमा फोटो र भिडियो खिच्न रोक लगाउनुका साथै दुर्व्यवहार गरेको पाण्डेले बताए।

'टिभीमा लाइभ गर्ने तयारीमा थियौं, क्यामेरा निकाल्दै गर्दा ठिक त्यही बेलामा मुल महन्त आएर हामीमाथि तथानाम गाली गर्न थाले र भिडियो तथा फोटो नखिच्न भनेपछि हामीले खिच्न पाएनौं,’ पाण्डेले भने।

महन्तले मन्दिरको सञ्चार माध्यमले प्रचार–प्रसार गर्न जरुरी पनि नभएको बताएका छन्। मन्दिरको प्रचार–प्रसार गरेर केही हुनेवाला छैन, प्रचार-प्रसारको कुनै जरुरी छैन हामीलाई,’ उनले भनेका थिए। दसैंको अवसरमा बाँके, छिमेकी मुलुक भारत लगायत विभिन्न ठाउँबाट मन्दिर दर्शन गर्न आउँछन्।

सरकारले बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको सूचीमा समेत राखेको छ। तर, महन्त योगीको यस्तो शैलीले धार्मिक पर्यटकीय स्थल बागेश्वरीको प्रचार–प्रसार कत्तिको होला? भन्नेमा आम नेपालगन्जवासीको चिन्ता छ। यस विषयमा प्रतिक्रिया लिन मुल महन्त योगीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।

बागेश्वरी मन्दिरको जग्गा अनियमितता प्रकरणमा मुछिएपछि मुल महन्त योगी विगत केही वर्षदेखि पत्रकारसँग रुष्ट बनेका छन्।

प्रकाशित: २५ आश्विन २०७८ ०६:१० सोमबार

बागेश्वरी मन्दिर समाचार संकलन