समाज

चतारा पुलबाट हाम फालेका बृद्ध बेपत्ता

उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसीको पुलबाट आईतबार दिउसो हाम फालेर एक बृद्ध बेपत्ता भएका छन्। जिल्लाको बेलका नगरपालिका ८ कोठु चतारास्थित सप्तकोसी पुलबाट दिउँसो १ बजे हाम फालेका बृद्ध धरान उपमहानगरपालिका १५ का ६४ वर्षीय गजेन्द्र राई रहेको र उनी हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ।

नाम, थर वतन नखुलेका एक बृद्धले पुलबाट कोसीमा हाम फालेर बेपत्ता भएको खवर टेलिफोन मार्फत पाएलगत्तै बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरबाट टोली खटेर खोजीकार्य सुरु गरेको थियो। इप्रका रामपुरका इन्सपेक्टर नेतृत्वको टोलीले घट्नालगत्तै कोसी किनार र आसपासमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

हाम फाल्नेबित्तिकै कोसीले बगाएर लगेको प्रत्यक्षदर्शीले देखे अनुसार प्रहरीले डुंगा र पैदलमा अलग अलग टोली परिचालन गरी उनको खोजी कार्य जारी राखेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार रामपुरस्थित सशस्त्र प्रहरी बेसक्याम्प र स्थानीयबासीसमेतको सहभागितामा बेपत्ता राईको खोजी कार्य भईरहेको भए पनि हालसम्म फेला परेका छैनन।

खोजी कार्यसँगै राईको पारिवारिक अवस्था र उनले हाम फाल्नुको कारणबारे बुझ्mने काम पनि भईरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २४ आश्विन २०७८ १४:४८ आइतबार

उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसीको पुल एक बृद्ध बेपत्ता