समाज

इखेनीलाई भेरीको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

तस्बिर : धाराबाट पानी भर्दै स्थानीय।

आँगन छेउमा जोडिएको धाराबाट पानी खस्दा बराहताल गाउँपालिका–६ इखेनीकी लिला शाहीका आँखा रसाउन थाले। भेरी नदी किनारको इखेनी बस्तीले १६ वर्षपछि खानेपानी पाउँदाको खुसी एकातिर थियो भने अघिल्लो वर्ष यहीँ समयमा भेरीमा नुहाउन गएको आठ वर्षीय नाति गुमाउँदाको पीडा अर्कोतर्फ थियो। 

‘अहिलेको जस्तो घर–घरमा धारा भइदिएको भए भेरीमा डुबेर नातिले मर्नुपर्ने अवस्था आउँदैनथ्यो,’ शाहीले भनिन्, ‘आँगनको धारो खोल्ने वित्तिकै नातिको सम्झना आइहाल्छ।’

अघिल्लो दसैं विदामा बावियाचौरमा दुई कक्षामा पढ्दै गरेका अर्जुन शाही इखेनी आएका थिए। नुहाउन भेरी गएका उनी फर्केनन्। ‘बस्तीमा पानी नहुँदा मैले नातिलाई गुमाउनु पर्‍यो,’ उनले भनिन्, ‘अब घर–घरमा पानी बग्न थालेको छ, मेरोजस्तो पीडा अरुले भोग्नु नपरोस्।’

इखेनी २०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको बस्ती हो। भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो। यातायात, विद्युत, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधाबाट विमुख इखेनी अब खानेपानीको समस्याबाट मुक्त भएको छ।

खानेपानीको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री।

इखेनीकी कौशीला तिरुवाको दैनिकी खानेपानीको जोहो गर्नमै बित्थ्यो। एक गाग्री पानीका लागि दुई–तीन घण्टा समय खर्चिनुपर्ने बाध्यता थियो। ‘दिनमा चार–पाँच गाग्री पानी चाहिन्थ्यो, यति जोहो गर्न एक जनालाई विहानदेखि बेलुकासम्म ठिक्क हुन्थ्यो,’ उनले भनिन्, ‘अब खानेपानीका लागि खर्चिने समय अरु काममा लगाउन पाइने भयो।’ भेरीपारीको पञ्चपुरी नगरपालिका–१० बच्छीबाट पाइपमार्फत नदी किनारमा ल्याइएको सानो पाइपबाट तुर्किने पानीले बस्तीका १०५ घरधूरीको प्यास मेटाउन सम्भव थिएन।

‘भेरीको धमिलो पानी छानेर खानुपर्ने बाध्यता थियो,’ कौशीलाले भनिन्, ‘अहिले घरघरका धाराधारमा चौबिसै घण्टा पानी बग्न थालेको छ। भेरीको धमिलो पानी खाँदा झाडापखालालगायतका रोगहरुको संक्रमण बस्तीमा अधिक थियो। ‘सहजताका लागि भन्दा पनि हामीलाई इखेनीमा सजायका लागि राखिएको जस्तो लाग्थ्यो,’ स्थानीय वर्षा विकले भनिन्, ‘सडक, बत्ती, खानेपानी, सिँचाइ केही नभएको ठाउँमा १६ वर्ष कसरी कटायौं होला?’

इखेनी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको वडा हो। शुक्रबार खानेपानीको उद्घाटन गर्दै मन्त्री बुढाक्षेत्रीले इखेनीलाई कर्णाली मोडलको नमूना गाउँ बनाउने घोषणा गरे। ‘आधारभूत पूर्वाधारविनै बस्ती बसेकाले तपाईँहरुले दुःख पाउनु भयो,’ उनले भने, ‘अब त्यो अवस्था रहँदैन, इखेनीलाई कर्णाली मोडलको नमूना गाउँ बनाउँछौं।’ उनले चालू आर्थिक वर्षभित्रै सडक, विद्युत र अन्य आधारभूत सुविधाहरु पुर्‍याउने प्रतिवद्धता जनाए।

खानेपानी आयोजना ६६ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो। भेरी किनार नजिकै सोलार प्लान्ट र इन्टेक निर्माण गरेर बस्तीमाथि पानी तानिएको छ। इखेनीका ८६ घरधूरीमा धारा जडान गरिएको छ। सुन्दर नेपाल संस्थाका कार्यकारी प्रमुख भूपेन्द्र कँडेलका अनुसार इन्टेकबाट पानी तान्नका लागि ५.४ किलोवाटको सोलार प्लान्ट स्थापना गरिएको छ भने ९९८ मुख्य र पाँच हजार ८४ शाखा पाइपलाइनमार्फत घरघरमा धारा पुर्‍याइएको छ। उनले खानेपानीसँगै सिँचाइका लागि उपयोगी हुने गरेर आयोजना निर्माण गरिएको बताए। ‘यो बहुद्देश्यीय आयोजना हो,’ उनले भने, ‘खानेपानीसँगै सिँचाइका लागि पनि आयोजनाले काम गर्छ।’

प्रकाशित: २४ आश्विन २०७८ ०२:३१ आइतबार

धमिलो पानी बराहताल गाउँपालिका–६ इखेनी