समाज

‘कब्रिस्तान’ बाट १४ वर्षीया किशोरीको शव नियन्त्रणमा, बलात्कार र हत्याको आशंका

वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित ‘कब्रिस्तान’बाट सदगद संस्कार गरिरहेकाे अवस्थामा १४ वर्षीया एक किशोरीको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार किशोरी भारतीय हुन् र बलात्कारका कारण रक्तस्राव भएर उनको मृत्यु भएको सूचना आएपछि शव नियन्त्रणमा लिइएको हो। प्रहरीले पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको उक्त शव थप प्रमाणिक परीक्षणका लागि काठमाडौं पठाउन तयारी गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। 

किशोरी घाँटीमा निलो डामसमेत देखिएको पाण्डेले जनाए। जबरजस्ती करणीका कारण अन्द्रुणी अंगमा आघात भएर अत्याधिक रगत बगेपछि १४ वर्षीया किशोरीको मृत्यु भएको र घटना लुकाउन शवलाई गाड्न थालिएको सूचना आएपछि टोली पठाएर शव बिहीबार साँझ नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।  

एक जना अधिकृत लगाएर शव काठमाडौं पठाउने तयारी गरिएको उनले जानकारी दिए। नेपालसंग सिमा जोडिएको भारत विहारको पश्चिमी चम्पारण जिल्लाको इनर्वा बजार नजिकैको खमिया गाउँ घर भएकी ती किशोरी जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ  कि साली हुन्। उनी आफ्नो भिनाजुको घर आएकी थिइन्। 

‘असोज १० गते किशोरीको रक्तस्राव भएर त्यो दिन नै वीरगन्जको प्रभु अस्पतालमा उपचारको लागि गाउँपालिका प्रमुखका कान्छो छोराले नै भर्ना गराएको पाइएको छ, १२ गते डिस्चार्ज गराएर उनले नै लगेका थिए,’ प्रहरी उपरीक्षक पाण्डेले भने, ‘जबरजस्ती करणी भई अत्यधिक रक्तस्रावका कारण युवतीको मृत्यु भएको हामीलाई सूचना आयो, अहिले प्रारम्भिक सूचना आएकै दिशामा अनुसन्धान गरिरहेका छौं, वास्तवमा के भएको हो भन्ने यकिन अहिले नै भन्न सकिँदैन, अनुसन्धानको क्रममा घट्ना भने थुप्रै शंकास्पद हर्कतहरु पाइएको छ।’

१० गतेपछि २ दिन अस्पतालमा भर्ना भएर डिस्चार्ज भएको समयभन्दा शव फेला परेको समयबीच एक हप्ताको फरक छ। यसबीचमा किशोरीसंग के भएको हो भन्नेतिर प्रहरीले घट्नाको तारतम्य केलाउन प्रयास गरिरहेको छ। मृतक किशोरीको शव जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँका अर्का एक जना छोरा बस्ने वीरगन्जको मुर्लीस्थित घरमा राखिएको सूचना सुरुमा प्रहरीलाई आएको थियो। त्यहाँ पुग्दा घरमा महिलाहरु मात्र थिए। लगत्तै प्रहरीले मुस्लिम समुदायको, शवको सदगत संस्कार गर्ने स्थल खोजी गर्दैजाँदा नयाँटोलको कब्रिस्तानमा युवतीको शव गाड्न थालिएको फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।  

त्यसपछि शव बरामद गरी पोष्टमार्टमको प्रक्रिया र ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक पाण्डेले बताए। युवतीका भिनाजु फरार रहेको प्रहरीले जनाएको छ। किशोरीलाई स्वास्थ्यमा गडबडी भएपछि उपचारको लागि भारतीय गाउँ खमियाबाट वीरगन्ज ल्याउँदा ल्याउँदै मृत्यु भएको नियन्त्रणमा लिइएकाहरुले बयान दिएका छन्। 

गत १० गते महिनावारीको समयमा अधिक रक्तस्राव भएर अस्पताल लगिएको पनि बताएका छन्। प्रहरीका आशंका अनुसार घटना, शव परीक्षणमा प्रमाणित भए घटना लुकाउन अस्पतालको पनि संलग्नता ठहरिने छ। यसमा अनुसन्धानको थुप्रै पाटो बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०७८ ०८:०६ शुक्रबार

१४ वर्षीया किशोरीको शव नियन्त्रणमा बलात्कार र हत्याको आशंका