समाज

दिल्लीमा उद्धार गरिएकी बालिका तीन महिनापछि नेपालमा

वीरगन्ज महानगरपालिका–१५ घर भएकी १५ वर्षीया एक बालिकालाई उद्धार गरेर तीन महिना नाघेपछि नेपाल ल्याइएको छ। 

वीरगन्जको श्रीपुरस्थित भारतीय महावाणिज्य दूतावासको प्रांगणमा मंगलबार ती बालिकाले लामो समयपछि बुवासँग भेट्न पाइन्। केहीबेर रुवाबासी चल्यो। ‘आज छोरी र बाबुको भेट हुँदा दुवैजना अँगालो मारेर भक्कानिए। 

त्यो निकै भावुक क्षण थियो,’ दिल्लीबाट नेपाली चेलीलाई उद्धार गरेर ल्याउने प्रक्रियामा भूमिका खेलेका महावाणिज्य दूतावासका अधिकारी शैलेन्द्र कुमारले भने, ‘धेरैजनाको सहकार्यमा यो पुण्यको कार्य सम्भव भएको छ ।’

ती बालिका गत असार २७ गते घरबाट हराएकी थिइन्। ‘छोरी अचानक हराइन्। खोजतलास गर्‍यौं। फेला परिनन्। हामी निकै निरास भइसकेका थियौं। घरमा रुवाबासी थियो। कहाँ गएकी होली, कस्तो अवस्थामा  होली भन्ने भय थियो,’ बालिकाका  बुवाले भने, ‘त्यसपछि ऊ दिल्लीमा भेटिएको र सकुशल रहेको थाहा पाएपछि हामीले मानसिक रूपमा निकै राहत पायौं ।’

दिल्ली रेल्वे स्टेसनमा अलपत्र अवस्थामा नेपाल घर बताउने एक बालिका फेला परेको सूचना अर्को दिन दिल्लीस्थित नेपाली सामाजिक संस्था केआइएन नेपालका भारत प्रतिनिधि नवीन जोशीले थाहा पाए। बालिकाले आफू घरबाट निस्केर टेम्पुमा चढेर रक्सोल गएको र त्यहाँबाट रेलमा चढेर बिनाटिकट दिल्ली आइपुगेको भनी प्रारम्भिक रूपमा बताएको उनले जानकारी दिए।

‘उनले हामीलाई अहिलेसम्म यति मात्र बताउन सकेकी छन्। फेला परेको दिन बुवाआमाबारे पनि बताउन नसक्नेगरी निकै हतास अवस्थामा उनी थिइन्,’ जोशीले भने, ‘शारीरिक र मानसिक स्वास्थ्यको परीक्षण गराइयो। शारीरिक रूपमा त उनी ठीक थिइन् तर मानसिक रूपमा अत्तालिएकी थिइन् ।’

उनका अनुसार भारतको दिल्लीस्थित बालकल्याण समितिको रेखदेखमा बालिकालाई संरक्षण गृहमा राखिएको थियो। रितपूर्वक सुनुवाइ गरेर मात्र बालबालिका हस्तान्तरण गर्ने प्रावधान पूरा गर्न निकै औपचारिकता निर्वाह गर्नुपरेको थियो। त्यसमा वीरगन्जस्थित महावाणिज्य दूतावासले सघाएको थियो। दिल्लीबाट बालिका फेला परेकै दिन त्यसको जानकारी महावाणिज्य दूतावासलाई आएको हुनाले उनको परिवारले खोज्नमा समय धेरै बिताउनुनपरेको महावाणिज्य दूतावासका अधिकारी कुमारले  जानकारी दिए ।

दिल्लीस्थित बालकल्याण समितिको सुनुवाइ र बोर्डको निर्णयपछि बालिका नेपाल ल्याइएकी हुन्। नेपालका सरोकारवालाहरूको उपस्थितिमा महावाणिज्यदूत नितेश कुमारले मंगलाबार बालिकालाई बुवाको जिम्मा लगाए। कुनै चेली पनि यसरी हराउने अवस्था नहराउने वतावरण बनाउन र हराइहाले सकुशल उद्धार गरी परिवारसँग पुनर्मिलन गराउन सबैको सहकार्य आवश्यक रहेको महावाणिज्य दूतावासका अधिकारीहरूले प्रतिक्रिया दिए।

 जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनयकुमार श्रीवास्तवले एक नेपाली चेलीलाई सकुशल परिवारमा पुनर्मिलन गराउने कार्यमा भूमिका निर्वाह गर्ने सबैलाई यसमा लागेका सबैलाई धन्यवाद भने। कसैले फकाएर वा प्रलोभनमा पारी दिल्ली पुर्‍याएको हुन सक्ने आकलन गरिएको छ। 

हराउनुअगाडि बालिकाले वीरगन्जकै एकजनाको घरमा काम गर्ने गरेकी थिइन्। बालिकाले घर छाड्ने अवस्था कसरी बन्यो भन्ने कुरामा खोजबिन गर्ने वीरगन्ज–१५ लक्षमनवाका अगुवा देवनाथ उपाध्यायले बताए । किशोरीका पिताले पनि त्यसबारे खोजबिन गर्ने बताए ।

प्रकाशित: २१ आश्विन २०७८ ०५:०३ बिहीबार

वीरगन्ज महानगरपालिका भारतीय महावाणिज्य दूतावास