समाज

दशैं बजार : भक्तपुरमा जौँ र मकैको व्यापार

रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन्। ’जौँ लिनुस्। एक गिलासको १५ रुपैयाँ।’ उनले यसरी नै ग्राहक बटुल्छिन्।

दुई दिन यता साँझ ५ बजे एक पाथी मकै र एक पाथी जौँ लिएर टौमढीमा व्यापार गर्न पुग्न थालेकी हुन्। उनी भन्छिन्, ’मोहनी नखा(दसैं) मा जौँ र मकैको जमरा राख्नुपर्छ। सबैलाई चाहिन्छ। त्यही भएर बेच्न आएकी हुँ।’

चाँगुनारायण नगरपालिकामा उनको खेत छ। मकै र जौँ उत्पादन गरेकी उनी दसैंको मौका छोपेर बेच्न हिँडेकी हुन्।

टौमढीका लक्ष्मीकुमार भेले पनि दुई पाथी मकै र जौँ लिएर व्यापार गर्न बसेका थिए। सहरमा जग्गा बेचेर घर बनाइसकेकाले दसैंमा जमरा राख्न मकै र जौँ नहुने हुँदा बेच्न आएको उनी बताउँछन्।

उनी १० वर्षदेखि नै दसैंमा जौँ र मकैको व्यापार गर्दै आएका छन्। ’यो आफ्नै खेतमा उत्पादन भएको हो। दसैंमा पूजा गर्न मात्रै नभई जमरा राख्नको लागि पनि चाहिन्छ,’ उनी भन्छन्,’ पहिले वर्षको १०/१० पाथी मकै र जौँ  बेच्थे। अहिले व्यापार कम छ।’ उनी  ३० रुपैयाँ मानामा जौं बेचिरहेका छन्।

प्रकाशित: २१ आश्विन २०७८ ०३:२० बिहीबार

दशैं बजार भक्तपुरमा जौँ र मकैको व्यापार रुद्रामाया भेले