समाज

धौलागिरीकी आरोही पूर्णिमालाई सम्मान

धौलागिरीकी आरोही श्रेष्ठलाई पोखरामा सम्मान गर्दै । तस्बिरः नागरिक

धौलागिरी हिमाल आरोहण गरेकी आरोही पूर्णिमा श्रेष्ठलाई पोखरामा भव्य सम्मान गरिएको छ । साहसिक पर्यटन क्षेत्रमा श्रेष्ठले योगदान दिएको भन्दै पदयात्रा क्षेत्रका व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले सम्मान गरेको हो ।

८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । विश्वको सातौं अग्लो धौलागिरी हिमालको शिखरमा पहिलो पटक श्रेष्ठ पुगेकी हुन् । श्रेष्ठसँगै अर्कि आरोही पासाङ ल्हामु शेर्पा अंकिताले पनि धौलागिरी हिमालको सफल आरोहण गरेकी थिइन ।  

टानका उपाध्यक्ष पन्थीले सफल आरोहणले कोरोना भाइरस संक्रमणको मारबाट ब्यूतिन लागेको नेपालको पर्यटनमा सकारात्मक सन्देश दिने बताए । श्रेष्ठले हिमाल आरोहणका चुनौतीहरु समेट्दै आफ्नो अनुभव पनि त्यहीबेला सुनाएकी थिइन् ।  

फोटो पत्रकारको पनि सम्मान

यसैबीच आरोही श्रेष्ठलाई फोटो पत्रकार संघ, कास्कीले पनि सम्मान गरेको छ । बुधबार पोखरामा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । आर्थिक अभावबीच पनि आरोहण सफल भएको भन्दै श्रेष्ठले खुसी व्यक्त गरिन् । उनले दुई पटकको प्रयासमा धौलागिरी आरोहण गर्न सकेको बताइन् । गत सिजनमा पनि आरोहण लक्ष्य रहेकोमा कोरोना संक्रमणका कारण रोकिएको जानकारी दिईन ।  

अब कञ्चनजंघा आरोहणको लक्ष्य रहेको उनले सुनाईन । गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थियो । अन्नपूर्ण प्रथम आरोहणमा पनि पूर्णिमाले नै नाम लेखाएकी थिइन । यसअघि उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमालको पनि आरोहण गरेकी थिइन् । कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शीर उचो बनाएको बताए ।  

प्रकाशित: २० आश्विन २०७८ ११:१० बुधबार

धौलागिरी हिमाल आरोहण पूर्णिमा श्रेष्ठ