समाज

३३ किलो सुन प्रकरण: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

साढे ३३ किलो सुन तस्करी प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला गरिएको छ। मोरङ उर्लाबारी–१ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करी मुद्दामा ६ जनालाई मोरङ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो।  

कर्तव्य ज्यान मुद्दामा न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार ८ जना प्रतिवादीलाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद, १ जनालाई ३ वर्ष र अर्का १ जनालाई ६ महिनाको कैद सजायको फैसला गरेको हो। अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो। उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ।  

अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसुर कायम भएको छ। मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए। मुद्दामा दोषी ठहर भएकाहरु गोरेको समूहका सहयोगी र उनका सवारी चालकहरु हुन्।  

मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। प्रतिवादीमध्ये उच्च प्रहरी अधिकृत र गोरेकी पत्नी नीरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएका छन्। नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेललगायतका प्रहरी कर्मचारीलाई सफाइ दिइएको छ।  

संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका हुन्। फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताउँदै २ वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने छ।  

२०७४ माघ ९ गते गोरेको समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएको थियो। सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले ०७४ फागुन १८ गते करेन्ट लगाएर यातना दिई सनमको हत्या गरेका थिए। हत्या भएको भोलीपल्ट विराटनगरमा शाक्यको शवसहित बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गरेको थियो। 

घटनाको अनुसन्धानका क्रममा गोरेको योजनामा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगष्टसम्ममा दुबईदेखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको हो।  

ठूलो मात्रामा सुन तस्करी गरेर नेपाल ल्याइएको खुले पनि सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाले सफाइ पाएकका छन्। मोरङ अदालतमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरी ४ वटा अलग अलग शीर्षकमा मुद्दा दर्ता भएको थियो। १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको बराबरको बिगो माग दाबीसहित मुद्दा दायर गरिएको थियो।  

प्रकाशित: १९ आश्विन २०७८ १२:०८ मंगलबार

साढे ३३ किलो सुन प्रकरण गोरेसहित ६ जनालाई जन्मकैदको फैसला