समाज

नाका नखुल्दा उपभोक्ता र व्यवसायी निराश

नेपाल सरकारले लामो समयपछि नेपाल भारत नाका खुलाउने निर्णय गरे तापनि रौतहटको सीमा जोडिएका भारतीय नाकाहरु नखुल्दा सर्वसाधारण उपभोक्ताले निकै सास्ती भोग्नु परेको छ। सीमानाका संचालन नहुँदा जिल्लाका स्थानीय व्यापारीहरु निराश भएका छन्।  

बडादशैँ आइपुग्दा पनि भारतीय पक्षले सीमानाका भएर सवारीसाधनको सहज आवागमन हुन नदिँदा दशैँमा पूजाको सामग्री किन्न भारत जाने सर्वसाधारणहरु अत्यधिक मारमा परेका छन्। पूजाका कतिपय सामग्री भारतीय बजारमा रहेका एउटै पसलमा सजिलै र सुपथ मूल्यमा पाइने हुन्छ तर त्यही सामान नेपालको बजारमा भने धेरै डुलेर किन्नु पर्ने र महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको भनाइ छ।  

मधेसी समुदायका मानिस व्रत बस्ने र विभिन्न सामग्रीले पूजागर्ने चलन रहेको छ। पूजाको सबै सामग्री सहजरुपमा नेपाली बजारमा उपलब्ध हुँदैन तर भारतीय बजारमा पूजाको सामग्री पाइने पसल नै रहने गरेकोले सजिलो हुने गरेकोमा भारतीय पक्षले नाका सुचारु नगर्दा निकै अप्ठ्यारो भएको गौरका उमेश साहको भनाइ छ।

दैनिक उपभोगका सामानहरु नेपाली बजारभन्दा निकै सस्तोमा भारतीय बजारमा पाइने गरेको छ। भारतीय बजारमा जानको लागि पैदल बाटो खुल्ला रहेको भए पनि पैदल हिँडेर जान बजार टाढा रहेको र रिक्सामा सामान ल्याउँदा दुई तीन पटक एक रिक्साबाट अर्कोमा राख्दा सामान फुट्ने, झोला च्यातिएर छर्ने तथा सामानको गुणस्तर नै कमजोर हुने समस्याले सर्वसाधारण उपभोक्ता भारतीय बजारमा जान कमै रुचाएको साहको भनाइ छ।  

सीमानाका सहज नहुँदा सीमा क्षेत्रका नेपाली बजारहरुमा पनि प्रतिकूल असर परेको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालको भनाइ छ। भारतीय सीमानाका सहज नहुँदा गाउँबाट मानिस सदरमुकाम गौरमा सामान खरिद गर्न आउन छाडेकोले व्यावसायीलाई निकै घाटा भएको अध्यक्ष जयसवालको भनाइ छ।

सीमानाका सहज हुँदा नेपाली र भारतीय ग्राहकले भरिभराउ हुने पसलमा अहिले ग्राहक नहुँदा व्यावसायी निराश भएको जयसवालको भनाइ छ। भारतीय पक्षले सीमानाकाबाट सबारी साधन सहज रुपमा आवागमन गर्न नदिँदा नेपाल र भारत दुवै देशका सीमावर्ती बजारका व्यावसायी प्रभावित भएको जयसवालको भनाइ छ।  

भारतले सीमानाका सहज नगर्दा नेपाल र भारत दुवै देशका सीमावर्ती बजारहरुमा चाडपर्वको समयमा देखिने गरेको क्रेताको भीड तुलनात्मक रुपमा पच्चीस प्रतिशतमा झरेको छ। कम्तीमा मोटरसाइकल नै भए पनि सीमा वारपार गर्न दिए दशैँको समयमा उपभोक्तालाई सहज हुने र व्यावसायीहरुलाई पनि कोरोनाको कारण सुस्ताएको बेपारमा केही सुधार आउने सम्भावना रहेको अध्यक्ष जयसवालकाे भनाइ छ। 

प्रकाशित: १९ आश्विन २०७८ १०:२९ मंगलबार

रौतहटको सीमा जोडिएका भारतीय नाका नखुल्दा उपभोक्ता र व्यवसायी निराश