समाज

घरेलु हिंसाकी पीडित भन्छिन्ः मैले आफ्नै पिसाब खाएको छु

कसैले पनि आफ्नो पिसाबा आफैं खाएँ भनेको वा सुनेको छैनन् होला। तर, यस्तो अपत्यारिलो घटनामा विराटनगरमा घटेको छ। पछिल्लो समय विभिन्न एनजिओ, आइएनजिओ र सरकारले घरेलु हिंसा अन्त्य गर्न पर्छ भन्दै सन्देशमुलक कार्यक्रम गर्दै हिँडे पनि हिंसाका घटनामा कमी आएको छैन।  

घरेलु हिंसामा प्रायः गरेर महिला बढी पर्ने गरेका छन्। पुरुष पनि घरेलु हिंसामा परे पनि यस्ता घटना कमै मात्रमा बाहिर आउने गरेका छन्। यस्तै विराटनगरकी एक २४ वर्षीया महिला घरेलु हिंसाबाट अति नै पीडित भएपछि घटना बाहिरिएको छ।  

विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिल स्कुल नजिककै घर भएकी कञ्चन अधिकारी (कोइराला)ले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी छन्। शनिबार माइती पक्षका दिदीबहिनी, भाउजूलगायत पुगेपछि अधिकारीको घरमा होहल्ला, रुवाबासी हुन थालेपछि एकाएक छरछिमेकीहरुको भीड हुन थाल्यो। निकै भीडभाड भएपछि घटनास्थलमा  प्रहरी पुगेर शान्त पार्‍यो। प्रहरीले माइती पक्ष र घर पक्षका दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा लगेर छलफल गराएको थियो। तर, छलफलबाट केही निचोड निस्केन।  

कञ्चन अधिकारीले श्रीमान मौसमकुमार कोइराला, सासू र आमाजू दिदीबाट आफू घरेलु हिंसा परेको आरोप लगाएकी छन्। कञ्चनका श्रीमान कोइराला नेपाल विद्युत् प्राधिकरण रानी शाखामा कार्यरत हुन्।

विराटनगर–३ माइती घर भएकी कञ्चन र मौसमबी ३ वर्ष अगाडि फेसबुकमार्फत चिनाजान भई प्रेम सम्बन्ध बनेको थियो। प्रेम सम्बन्धलाई दुवै जनाको पारिवारिक सहमतिमा विवाह भएको थियो। विवाह भएको ८ महिनादेखि आफूलाई श्रीमान, सासू र आमाजूले शारीरिक र मानसिक यातना दिँदै आएको कञ्चनले बताइन्। उनले सासू र आमाजू मिलेर पटक पटक मेरै पिसाब खुवाएको र कुटपिट गर्ने गरेको सुनाइन्। आफूलाई घर परिवारबाट ठूलो हिंसा गर्दै यातना दिएको हुँदा न्याय दिन सबैलाई अपिल गरेकी छन्।  

‘आफूलाई सासू र आमाजूले नराम्रो व्यवहार गर्ने गरेको श्रीमानलाई सुनाउँदा उल्टै मलाई नै कुटपिट गर्नु हुन्थ्यो,’ कञ्चनलले भनिन्, ‘घरको काम जति राम्रोसँग गरे पनि दुवै जनाले केही न केही खोट लगाएर नराम्रो व्यवहार गर्थे।’ विवाह भएको सुरुको केही महिना घर परिवारबाट राम्रो माया पाए पनि उनीहरुको चाहना अनुसार सन्तान नभएपछि हिंसा गर्न थाले। बच्चा नभएपछि डाक्टरमा गएर जाँच गर्दा ‘थाइराइड’ भएको रहेछ र त्यसको औषधि खाएपछि बच्चा बस्यो।  

‘अहिले १९ महिनाकी छोरी छिन्,’ कञ्चनले भनिन्, ‘तर, मलाई मेरै छोरीलाई करिब ३ महिनादेखि राम्रोसँग छुन र हेर्नसमेत उनीहरुले दिएका छैनन्। उनीहरले कसैले पनि घरको गेट बाहिर जान र छरछिमेकीलाई समेत घरभित्र आउन दिँदैनन्। कसैसँग बोल्न पनि पाइँदैन।’ आमा–छोरी मिलेर मलाई दैनिक खाना राम्रोसँग दिँदैन थिए। उनीहरुले सबै जनाले खाइसकेपछि मात्रै खान पाइँन्थ्यो। बिहानदेखि भोकै बसेर दिउँसो २/३ बजेतिर मात्रै खाना दिन्थे उनले भनिन्।  

कञ्चनका अनुसार आमा–छोरी मिलेर सधैँ काम राम्रो भएन भनेर फोहोर हिलो छ्याप्ने र मलाई पिसाब गर्न लगाएर खान बाध्य बनाउँथे। घरका कुरा माइतमा सुनाउँदा पीडा हुने भएकाले नसुनाएको बताएकी कञ्चनले आफ्नै छोरीलाई समेत हेर्न र छुन नदिने गर्न थालेपछि आजित भएर घटना सार्वजनिक गरेको बताइन्।  

शनिबार माइती पक्षका आफन्त आएपछि कञ्चनले आफू पीडामा भएको बताइन्। उनका छिमेकीलेसमेत कञ्चनलाई नराम्रो व्यवहार गर्दै कसैसँग भेटघाट गर्न र बाहिरका कसैलाई पनि घरभित्र जान नदिने गरेको बताए। छिमकीका अनुसार सधैंजसो उनीहरु मिलेर कञ्चनलाई कुटपिट गर्ने गरेको बताए।  

कञ्चनको बुवाको निधन भएपछि माइती जाँदा मात्रै बहिनीको वास्तविकता देख्यौं, कञ्चनकी दिदी कुसुम भण्डारीले भनिन्। प्रायः कुरा गर्दा सबै राम्रै छ भन्ने गरेकी थिइन्। तर, बुवाको निधन भएपछि माइत आउँदा कञ्चनको अवस्था अति नै दयनीय देखिएको थियो। ‘बुवाको काममा आउँदा अति नै दुब्लो, हात खुट्टामा घाउ थियो,’ दिदी कुसुमले भनिन्, ‘बहिनालाई हिंसा गर्ने ज्वाइँ, सासू र आमाजूविरुद्ध कानुनी कारबाही गर्ने छौं। शनिबार त्यहाँबाट सानो नानीसहित ल्याएर माइतमा राखेका छौं।’ 

बच्चालाई डाक्टरकोमा जाँच गराउँदा बच्चाको अवस्था देखेर छक्क परेको उनले बताइन्। बच्चाले पाउनु पर्ने पोषण तत्व नपाउँदा उसको वृद्धि नभएको डाक्टरले बताए। 'कुन मुद्दा दर्ता गर्दा बढी सजाय पाउँछन् भन्ने विषयमा छलफल भइरहको र २ दिनभित्रै अदालतमा सासू र आमाजूविरुद्ध मुद्दा दर्ता गर्छाैं,' दिदी कुसुमले भनिन्।    

इलाका प्रहरी कार्यालय रानीमा कञ्चनले ३८ वर्षीय श्रीमान मौसम कोइरालाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन्। इप्रका रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले जाहेरी परेपछि कोइरालालाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको बताए।  

प्रहरीका अनुसार ६४ वर्षीया सासू र ४० वर्षीया आमाजूविरुद्ध घरेलु हिंसालगायतमा मुद्दा अदालतमा दर्ता गर्ने भनेकाले दुवै जनालाई छाडिएको हो।

प्रकाशित: १८ आश्विन २०७८ १३:४५ सोमबार