समाज

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी)  विगत १८ वर्षदेखि अस्तव्यस्त छ। हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहुँदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ। कार्यालयका लागि आवश्यक कोठा नहुँदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिए।  

'निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन', निमित्त कार्यालय प्रमुख शाहले भने, ' म पनि फाँटमा बसेर काम गर्दै आएको छु।' दैनिक एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउँछन् । बल्लतल्ल सेवाप्रवाह पुर्‍याएको कार्यालयको दाबी छ।  

दुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा ८४ हजार तिर्नुपर्छ। विसं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो। स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरो गरी सेवाप्रवाह गर्दै आएको कार्यालयले जनाएको छ।  

प्रकाशित: १८ आश्विन २०७८ ०२:३७ सोमबार

यातायात व्यवस्था कार्यालय