समाज

जेष्ठ नागरिक भन्छन्ः भत्ता घरैमा ल्याईदेउ

गोरखामा जेष्ठ नागरिक दिबसको अवसरमा आयोजित सम्मान कार्यक्रम । तस्विर ः नरहरि सापकोटा ÷नागरिक

‘भत्ता लिन दिनभरी बैंक कुर्नपर्छ । असिन पसिन हुँदै सरकारले दिएको भत्ता लिन बैंक सम्म आउनुपर्ने बाध्यता छ, सरकारले जेष्ठ नागरिकको सम्मानमा भत्ता दिएको हो भने घरैमा ल्याईदिओस,’ ८७ वर्षिय नारायणभक्त अर्यालले भने ।  

‘सरकारले जेष्ठ नागरिकका लागि औषधी दिएको छु भन्छ तर हस्पिटलले दिँदैन,’ जेष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा अर्यालले भने ‘जेष्ठ नागरिकको सुविधामा भने अनुसार कार्यन्वयन हुनुप¥यो ।’ सरकारले सेवा सुविधा दिएको भन्ने गरेको तर जेष्ठ नागरिकले पाएको महशुस नगरेको उनले बताए ।  

उनको मात्र होईन अधिकाशं जेष्ठ नागरिकहरुको गुनासो एउटै छ ‘बैंकबाट भत्ता दिँदा दिनभरी पर्खेर बैंकमा बस्नुपर्ने बाध्यता छ ।’ बैंकले घरैमा लगेर सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा रकम दिनुपर्नेमा जेष्ठ नागरिकले जोड दिए । यातायात, सार्वजनीक कामकाजमा जेष्ठ नागरिकलाई प्राथमिकता नदिएको उनीहरुको गुनासो छ ।  मानव अधिकार संञ्जालका अध्यक्ष यदु अधिकारीले जेष्ठ नागरिकलाई दिनभरी भत्ता लिने नाउँमा यातना दिनु मानव अधिकार हनन भएको बताए । साथै उनले सेवा सुविधा जेष्ठ नागरिकलाई घरघरमा पु¥याउनुपर्नेमा जोड दिए ।  

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले आफुले बैंक र स्थानीय तहसँग सामाजिक सुरक्षाको रकम कसरी सहज रुपमा बितरण गर्न सकिन्छ भन्ने बारे चासो राख्ने र सहज बनाउन पहल गर्ने बताए । ‘सबै उमेर समुहका लागि विद्युतिय प्रविधीको समानता’ भन्ने नारा सहित गोरखामा शुक्रवार ३१ औं जेष्ठ नागरिक दिबस मनाइएको छ । जेष्ठ नागरिक जिल्ला संघ गोरखा र सामाजिक विकास कार्यालयको आयोजनामा दिबसको अवसरमा ११ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।  

सम्मानित हुनेहरुमा खडानन्द शर्मा ८९ वर्ष, नारायणभक्त अर्याल ८७, बिष्णुहरी मरहट्टा ८९, बुधलक्ष्मी शाक्य ८५, भोलाकुमारी श्रेष्ठ ८१, भक्तकुमारी गुरुङ ९०, खिलबहादुर श्रेष्ठ ८४, सुकुमाया गुरुङ ७९,सन्तबहादुर सार्की ८९, बिष्णु पोखरेल ९२, भिमकुमारी बसनेत ८५ वर्ष का रहेका छन् । उनीहरुलाई नगद एकहजार रुपैयाँ, हर्लिक्स, साबुन, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको जेष्ठ नागरिक संघका सदस्य यादब शर्माले बताए ।  

जेष्ठ नागरिकको आत्मसम्मानका लागि सम्मान कार्यक्रम गर्ने गरिएको जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । सहभागीले जेष्ठ नागरिकको ज्ञान, सीप अनुभवलाई पुस्ता हस्तान्तरण गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।  

नवज्योती माविका संस्थापक शर्माद्वारा विद्यालयमा अक्षयकोष स्थापना

नवज्योती माध्यामिक विद्यालयका संस्थापक खडानन्द शर्माले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । विसं २०३१ सालमा आफुले स्थापना गरेको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने गरी उनले अक्षयकोष स्थापना गरेका हुन् ।  शुक्रबार जेष्ठ नागरिक दिवसको अवसर पारेर उनले दुईलाख ५१ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापन गरेका छन् । उक्त अक्षयकोषमा पाँच लाख रुपैयाँ पु¥याउने शर्माले बताए ।  आफु वृद्ध अवस्थामा रहेको, गतवर्ष श्रीमती दिवंगत भएकोले उनको सम्झना र सम्मानमा उक्त अक्षयकोष स्थापना गरेको शर्माले बताए ।  

‘खडानन्द खिनकुमारी स्मृति छात्रवृत्ती कोष’ बाट विद्यालयले हरेक वर्ष पठनपाठनमा सहयोग गर्ने गरि गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने जनाएको छ । गोरखा नगरपालिका–७ मा रहेको उक्त विद्यालयमा आर्थिक अबस्था कमजोर भएका परिवारका विद्यार्थी धेरै पढ्ने गर्छन ।  

प्रकाशित: १५ आश्विन २०७८ ०८:३७ शुक्रबार

जेष्ठ नागरिक सामाजिक सुरक्षा रकम