समाज

राउटे समुदायका लागि ‘एक किलोमिटर एक किलो चामल’ अभियान

क्याप्शन

इलामको श्रीअन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रामा निस्केको विश्व साइकल यात्री पुष्कर शाह नेतृत्वको टोलीले जंगलमा फिरन्ते जीवन विताउने लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ। साइकल यात्रासँगै राउटेलाई राहत उपलब्ध गराउनका लागि ‘एक किलोमिटर एक किलो चामल’ अभियान सञ्चालन गरेको टोलीले सल्यानको सल्लीबजार नजिकै बस्दै आएका राउटे समुदायलाई खाद्यान्न उपलब्ध गराएको हो।

‘काठका भाँडावर्तन बनाएर गुजारा चलाउने राउटे समुदाय दशैंको मुखमा खाद्यान्न जोगो गर्न नसकेर समस्यामा रहेको जानकारी पाएपछि ‘इलामबाटै एक किलोमिटर एक किलो चामल’ अभियान सुरु गरेका थियौं,’ विश्व साइकल यात्री शाहले भने, ‘सुर्खेत पुग्दासम्म करिव ५० हजार रुपैयाँ जम्मा भएको थियो, त्यसैमार्फत खाद्यान्न खरिद गरेर राउटे समुदायलाई हस्तान्तरण गरेका हौं।’  

पुष्करसँगै साइकल यात्रामा ७० जनाको टोली छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको रोहवरमा नेपाल साइकल यात्राको टोलीले राउटे मुखिया दीलबहादुुर शाहीलाई अभियानबाट संकलन भएको रकममार्फत खाद्यान्न खरिद गरेर हस्तान्तरण गरेको थियो। ‘बाटोमा धेरैले राउटे समुदायका लागि सहयोग गर्न खोज्नु भएको थियो, बाचा गरेको जति सहयोग हामीले ल्याउन सकेनौं,’ शाहले भने, ‘दशैंको मुखमा एक–एक बोरा चामल उपलब्ध गराउन पाउँदा पनि खुशी लागेको छ।’

कोरोना कहरका कारण राउटे समुदाय आफ्नो पेशाबाट विमुख हुँदै गएको छ। काठबाट कोसी, मधुसलगायतका सामाग्रीहरु बनाउने र त्यसैलाई विक्री गरेर गुजारा चलाउने यो समुदाय जंगलमा काठ काट्न नपाउँदा र शहर घुम्न नपाउँदा समस्यामा छ। राउटे मुखिया दीलबहादुर शाही दशैंका लागि खाद्यान्न पाउँदा खुशी छन्। ‘दुई महिनादेखि भत्ता पाएका छैनौं, बस्तीमा खानका लागि अन्न पनि छैन्,’ उनले भने, ‘यस्तोमा चामल पाउँदा खुसी लागिहाल्छ नि।’ उनले दशैं नजिकै आइसकेकाले चाँडो भत्ता र खशी उपलब्ध गराइदिन अनुरोध गरे।

प्रकाशित: १४ आश्विन २०७८ ०४:१५ बिहीबार

राउटे समुदाय ‘एक किलोमिटर एक किलो चामल’ अभियान