समाज

रारा जाने साइकल यात्रीलाई प्रदेश सरकारको स्वागत

इलामको श्रीअस्तुबाट साइकल यात्रामा रहेको विश्व साइकल यात्री पुष्कर शाह नेतृत्वको टोली सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुगेको छ। श्रीअस्तुदेखि मुगुको रारातालसम्मको २८ दिने साइकल यात्रामा रहेको टोलीलाई कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले वीरेन्द्रनगरमा स्वागत गरे।

साइकल यात्रामा ६५ जना यात्रुहरु छन्। नेपाल साइकल उत्सवले यो वर्ष ‘सम्वन्ध जोड्दै देश घुमौं’ नारा दिएको छ। ‘कर्णालीका पर्यटकीय क्षेत्रहरुको देश तथा विदेशमा प्रचार गर्ने उद्देश्यले यो वर्ष रारासम्मको यात्रा गर्न लागेका हौं,’ टोलीको नेतृत्व गरेका शाहले भने, ‘सुर्खेतको बुलबुले, कांक्रेविहार, दैलेखको पञ्चकोशी क्षेत्र, जुम्लाको सिंजा सभ्यता हुँदै नेपालकै ठूलो ताल रारासम्म पुग्दैछौं।’  

श्रीअस्तुबाट १८ दिनको यात्रा गरेर सुर्खेत आइपुगेको टोलीले मंगलबार प्रदेश राजधानीका पर्यटकीय क्षेत्रहरुमा स्थानीय साइकल यात्रीहरुसँगै यात्रा गर्नेछ। बुधबार दैलेख, कालिकोट, हुम्ला हुँदै पाँच दिनको यात्रापछि टोली रारामा पुग्नेछ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णाली पर्यटकहरुका लागि ‘भर्जिन ल्याण्ड’ भएपनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताए। ‘कर्णालीका १० वटै जिल्लामा धेरै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु छन्,’ उनले भने, ‘प्रचार–प्रसार हुन नसक्दा संभावना भएर पनि ओझेलमा परेका छन् ।’ उनले नेपाल साइकल उत्सवले कर्णालीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

साइकल उत्सवको टोलीलाई वीरेन्द्रनगर नगरपालिकाले बुलबुलेमा बासको व्यवस्था गरेको छ। कर्णालीको पर्यटकीय क्षेत्रको समस्या, समाधानका उपायहरु, सरकार र निजी क्षेत्रले गर्नुपर्ने कामका विषयमा बुलबुलेमा स्थानीय तह, प्रदेश सरकार र साइकल उत्सवको टीम र सरोकारवालाहरुबीच अन्तर्क्रिया हुनेछ।

प्रकाशित: ११ आश्विन २०७८ ११:५२ सोमबार