समाज

नाका खुलेपछि भारतको बजार जोगबनीमा भीड

भारतीय जोगबनी बजारबाट किनमे गरेर फर्कंदै नेपाली उपभोग्क्ता। तस्बिरः चुमन/नागरिक

सीमावर्ती बजारमा किनमेल गर्न नेपाली उपभोक्ताको भीड लागेको छ। कोरोनाको महामारी फैलिएसँगै बन्द नाका खुलेपछि किनमेलका लागि नेपाल उपभोक्ताको जोगबनी बजारमा भीड लागेको हो।  

किनेमेलका लागि सीमामा कुनै अवरोध नहुँदा भारतीय बजार गुल्जार बनेकोको छ। विशेष गरी दशैंको किनमेल गर्न विराटनगर, इटहरी, धरानलगायतका क्षेत्रहरुबाट दैनिक हजारौंको संख्यामा मानिसहरु जोगबनी बजार पुग्ने गरेका छन्। कोरोनाका कारण ठप्प भएको व्यापार चाडपर्वमा उक्सिने आश गरेका विराटनगरका व्यापारी भने निराश बनेका छन्।

दैनिक उपभोग्य वस्तुहरु चिनी, खाने तेल, मरमसला, लत्ताकपडालगायतका सामग्री किन्न जोगबनी नै पुग्ने प्रवृत्तिका कारण नेपालतर्फ सीमावर्ती बजारमा ठूलो असर पर्ने गरेको छ। जोगबनी बजारमा सस्तोमा उपभोग्य वस्तु पाइन्छ भन्ने विश्वासले नेपाली उपभोग्क्ता सीमावर्ती भारतीय बजारमा किनमेलका लागि आकर्षित हुने गरेका छन्। तर, सीमावर्ती भारतीय बजारमा गुणस्तर र तौलमा ठगी हुने गरेको छ। तौल घटाएर वस्तुको मूल्य कम गर्ने प्रवृत्ति जोगबनी व्यापारीको छ।

तर, नेपाली उपभोग्क्ता जोगबनीका व्यापारीको दुराशयपूर्ण व्यवहार नबुझेर थोरै सस्तो हुने लोभमा किनमेलका लागि जोगबनी नै पुग्ने गरेका छन्। नाका बन्द हुँदा जोगबनीका व्यापारीलाई व्यापार जोगाउनै हम्मेहम्मे परेको थियो। मुख्य नाका बन्द हुँदा खुला सीमा क्षेत्रको फाइदा उठाउँदै केही नेपाली र तस्करीमा संलग्न भएकाहरु दैनिक जोगबनी पुग्ने गरेका थिए।

लामो समयसम्म मुख्य नाका बन्द हुँदा विराटनगरको व्यापारमा केही राहत मिलेको थियो। तर, अहिले नाका खुलेसँगै विराटनगरलगायतका नेपाली बजारमा भने खासै भीड देखिँदैन। विराटनगर रानी नाका खुलेपछि नेपाली उपभोग्क्ता यही नाका हुँदै आवतजावत गर्ने गरेका छन्। नाकामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले मानिसलाई मास्क अनिवार्य लगाउन लगाए पनि मानिसहरु उनीहरुको अगाडि मात्रै लगाउने गरेका पाइएको छ।

०७६ चैतदेखि बन्द भएको विराटनगरस्थित रानी नाका साउन २७ गतेदेखि खुला भएको हो। नाका खुले पनि दुवै देशका मानिसलाई यहाँबाट सवारीसाधनमा आवतजावतमा रोक लगाइएको छ। सवारीसाधन आवतजावतका लागि भन्सार परिसर भए जानु पर्छ। सीमा रहेको टाट पूरै बन्द भए पनि मानिसहरुलाई छेउबाट मास्क अनिवार्य लगाएर आवतजावत गर्न दुवै देशका सुरक्षाकर्मीले दिने गरेका छन्।  

मुख्या नाका बन्द हुँदा चोरी बाटो स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्ने क्रम बढेपछि मुख्य नाका खुला गरिएको हो। मुख्य नाका आसपासबाट स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गराएर मुख्य नाकाबाटै आवगमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।  

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरदकुमार पोखरेलले भने, ‘नाका आंशिक मात्रै खुलेको हो। तर, चाडपर्व नजिकिएसँगै सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको भीड बढेको छ। सीमा देखिएको भीड नियन्त्रण र स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा प्रशासनले नयाँ रणनीति बनाउने तयारी गरेको छ।’  

मुख्य नाका बन्द भएपछि सर्वसाधारणहरु रानी नाकाको छेउछाउको चोर बाटोबाट ओहोरदोहोर गर्दै आएका थिए। मोरङ प्रशासनले अवैध बाटो प्रयोग गरी ओहोरदोहोर रोक्न सर्वसाधारणका लागि मुख्य नाका आंशिक खुला गरेको हो। विराटनगरको दरैयाबस्ती, इस्लामपुर, मटेरुवालगायतको नाका चोरी तस्करीका लागि प्रयोग हुँदै आएको थियो। कोरोनाको महामारी फैलिएर मुख्य नाका बन्द भएपछि सबैले यिनै चोर बाटोहरु प्रयोग गर्दै आएका थिए।  

पैदल यात्रीका लागि आवतजावत गर्न मुख्य नाका खुला गरिए पनि सवारीसाधन भने अझै पनि रोक लगाइएको मोरङ प्रशासनले जनाएको छ। अन्तर्राष्ट्रिय सीमा बन्द यथावतै रहे पनि विराटनगरस्थित मुख्य नाका मात्रै आंशिक रुपमा खुला गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले स्पष्ट पारेको छ।

प्रकाशित: १० आश्विन २०७८ १०:४० आइतबार

नाका खुलेपछि भारतको बजार जोगबनीमा भीड