समाज

बुद्धको क्रिडास्थल तिलौराकोटको पवित्र माटो सिक्किमका मुख्यमन्त्रीलाई पठाइयो

ओझेलमा रहेको प्राचीन कपिलवस्तुको पर्यटन प्रवर्द्धनका लागि बुद्धको क्रिडास्थल तिलौराकोटको पवित्र माटो भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पठाइएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ कपिलवस्तुले तौलिहवामा राखेको सिक्मिका अन्तर्राष्ट्रिय स्टङलिफटीङ खेलाडी पेमा दोर्जोको स्वागत कार्यक्रममा सो माटो सिक्किम पठाइएको हो।  

आयोजकले सो माटोसँग मुख्यमन्त्री तामाङलाई प्राचिन कपिलवस्तु घुम्न आउन निम्तो समेत दिएको छ। उक्त खेलको अन्तर्राष्ट्रिय जज, विश्व च्याम्पियन तथा स्ट्रङ मेन अफ सिक्किमको उपाधि समेत पाएका दोर्जे मार्फत सो माटो मुख्यमन्त्रीलाई पठाइएको हो। कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते अवधेशकुमार त्रिपाठी, संघका जिल्ला अध्यक्ष जिवन गिरीले मायाको चिनो स्वरुप बुद्धको मूर्ति र माटो दोर्जेलाई हस्तान्तरण गरेका थिए।  

शारीरिक सुगठन कै एक भागका रुपमा रहेको स्टङलिफ्टीङ खेलको प्रचारप्रसार गर्न आफू नेपाल आएको दोर्जेले बताए। ओल्ड स्टेन्थ लिफ्टीङ फेड्रेशनका महासचिव समेत रहेका दोर्जेले आफूले यो खेलसहित बुद्धको क्रिडास्ल तिलौराकोटको प्रचारप्रसार गर्ने बताए। लुम्बिनीको बारेमा जानकारी पाए पनि तिलौराकोटका बारमा नसुनेका दोर्जेले ओझेलमा परेको तिलौराकोटको विकास र प्रचारप्रसारका लागि आफूले सक्दो सहयोग गर्ने बताए।  

स्टङलिफ्टीङ खेलमा बाईसेफ कल, ईनक्लाईन बेन्च प्रेसको अभ्यास गर्ने गरिन्छ। यो खेल र संगठन ८ देशमा विस्तार भईसकेको दोर्जेले बताए। दोर्जेसहितको टोली कपिलवस्तुपछि खेलको प्रवर्द्धनका लागि दाङ, नेपालगंज र सुर्खेत जाने बताएका छन्। सो अवसरमा मेयर किरण सिंहले सबै मिलेर बुद्धनगरीको विकासमा अब ढिला गर्न नहुने बताए। यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बुद्धकालीन सयममा नै कुस्ती, मार्सल आर्ट लागतयका १६ विद्याको विकास भएको कुरा ललित विस्तार भन्ने पुस्तकमा उल्लेख भएको बताए। उनले खेल मार्फत प्राचिन कपिलवस्तुको प्रचारप्रसार गरेर खेलाडीहरुले प्रशंसनीय काम गरेको बताए।  

अबको ३ वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम सकिने भन्दै तिलौराकोट र रामग्रामको समेत अन्तर्राष्ट्रिय स्तरको गुरुयोजना निर्माण गरी कार्य अघि बढाइने बताए। तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकरणका लागि कार्य अघि बढेको भन्दै उनले प्राचीन कपिलवस्तु लुम्बिनीभन्दा बृहतरुपमा ७ वटा स्थललाई जोडेर अघि बढ्ने बताए। उनले कपिलवस्तु, नवलपरासी र रुपन्देर्हीलाई जोडेर एकीकृत रुपमा गुरुयोजना निर्माण आवश्यक रहेको उल्लेख गरे।  

सन् २०५० सम्म लुम्बिनीमा वार्षिक एक करोड पर्यटक भित्रिने योजना अनुसार काम अघि बढेको उनले बताए। संघका जिल्ला अध्यक्ष जिवन गिरीले आफूहरुले खेलको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बुद्धको क्रिडास्थलको प्रचारप्रसार गर्ने प्रतिबद्धता ब्यक्त गरे।  

तिलौराकोट बुद्धले २९ वर्ष बिताएको क्रिडास्थल हो। प्रचिन कपिलवस्तुमा निगानीकोट र गोटीहवा गरी २ वटा अशोक स्तम्भ समेत छन्। यहाँ डेढ सय बढी बुद्धसँग सम्बन्धित स्थलहरु छन्।

प्रकाशित: ९ आश्विन २०७८ ११:०८ शनिबार

प्राचीन कपिलवस्तु सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ बुद्धको क्रिडास्थल तिलौराकोट पवित्र माटो