समाज

कपिलवस्तुमा बढ्दै कुष्ठरोगी

जिल्लामा १० वर्षअघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढ्दै गएको छ। वर्षोदेखि शून्यमा झार्ने अभियान संचालन गरीरहँदा कपिलवसतुमा भने कुष्ठ रोगीको संख्या बढदै गएको हो। अचेतना र खुला सीमाका कारण बढेको बढ्दै छन्। कुष्ठ रोगीको संख्या नघटेपछि यसको नियन्त्रणमा चुनौती देखिएको छ। 

प्रति १० हजार जनसंख्या बराबर १ बिरामीभन्दा कम हुनु पर्नेमा गत आवमा यहा १ दशमलव ९२ प्रतिशत रोगी भेटिएका छन्। गत आर्थिक वर्ष कुल १ सय १७ जना कुष्ठरोगी फेला परेको स्वास्थय कार्यालयका क्षयकुष्ट अधिकृत माहोम्द ईरफानले बताए। ६३ पुरुष र महिला ५४ जना छन्। अघिल्लो आर्थिक वर्ष २०७६।०७७ मा १ दशमलव १९ थियो। 

जिल्लाबाट १० वर्षअघि कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। तर अशिक्षा र खुला सीमाका कारण ओहोरदोहाेर बढ्दा बिरामी बढ्दै गएका छन्। अहिले बिरामी बढ्दै जाँदा रोग निवारण भएको घोषणा कायम राख्न चुनौती बनेको छ। जिल्लाको जनसंख्याको प्रति दश हजारमा १ जनाभन्दा कम बिरामी भए कुष्ठरोग निवारण भएको मानिन्छ। त्यो बढेर दोब्बर नजिक पुगेको छ। बिरामी बढ्दै जाँदा रोग उन्मुलन भएको घोषणा समस्या बनेको छ। 

गरिव, विपन्नता कारण उपचार गराउन नजाने प्रवृत्तिले कुष्ठरोगीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। कुष्ठरोगले तत्कालै ठूलो समस्या नपर्दासम्म अस्पताल नजाने प्रवृत्ति छ। लामो समय अस्पताल नजाँदा रोग जटिल बन्दै गई अंगभंग हुने अवस्था आउँछ। त्यसपछि समस्या हुन थालेपछि मात्र बिरामी स्वास्थ्य केन्द्रसम्म पुग्ने गर्छन्। यहाँ थारु समुदायमा कुष्ठरोगका बिरामी अत्यधिक देखिएका छन्। ५० प्रतिशत बढी थारु छन्। ‘समस्या गाह्राे बन्दै गएको छ’, स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेयले भने। 

'महिला घर काममा लाग्नुपर्ने बाध्यता छ’, यशोधरा गाउँपालिकाको शिहोखोर स्वास्थ्य चौकी अहेब केशव घिमिरेल भने, ‘थला नपरुन्जेल उपचारका लागि नआउने प्रवृत्तिले समस्या बढ्दो छ।’ हिँड्डुल गर्न, कामकाज गर्न समस्या नपर्ने हुँदा बिरामी स्वास्थ्य प्रति ध्यान नदिँदा समस्या भईरहेको उनले बताए। कुष्ठरोगका किटाणुले बिस्तारै असर गर्दै छाला बाक्लो हुने, गिर्खाहरु देखा परेर स्नायुमा असर गर्छ। हात गोडा छुँदा पनि थाह नपाउने र मांसपेशी कमजोर बनाउँदै लैजान्छ। त्यसपछि शारीरिक रुपमै कुरुप र कामकाज गर्न समस्या भएपछि विरामी स्वास्थ्य सस्थाको सम्पर्कमा आउने हुँदा संख्या बढ्दै गएको अधिकृत ईफानले बताए। 

रोग लागेको २ देखि ५ वर्ष भित्र लक्षण देखा पर्छ। त्यसपछि नराम्ररी प्रभावित बनाउँछ। मुलुकका कुष्ठराेग प्रभावित १० जिल्लामध्ये कपिलवस्तु एक हो। भारतसंगको खुला सीमाका कारण तराईका जिल्लामा कुष्ठरोग निवारण समस्या र चुनौती भईरहेको स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक पाण्डेयले बताए। 

पहाडी क्षेत्रबाट बसाईसराई गरेर आउने बिरामी र भारतीय बजारमा रोजगारी गरेर फर्कने बिरामीका कारण रोगीको संख्या बढ्दै गएको उनले सुनाए। माईक्रो बेक्टेरियमबाट सर्ने उक्त रोग निको पार्न रिफामपीसीन, एमबी पिबी नामक औषधि अवस्था हेरी ६ महिना र १ वर्षसम्म नियमित सेवन गर्नुपर्छ। गम्भीर खाललाई एमबी र सामान्य खालका रोगीलाई पिबी औषधि दिईने गरिएको छ। 

न चिलाउने र लाटोफुस्रो दाग देखा पर्छ। बिस्तारै शरीरको सेल मार्दै जाने, अंगभंग हुने र बिरामी अपाङ हुने सम्मको अवस्था आउँछ। समयमै रोग लागेको पत्ता लगाई उपचार गरेमा शरीर अंगभंग हुँदैन। अरुलाई यो रोग सार्ने सम्भावना ज्यादै न्यून हुन्छ।

प्रकाशित: ५ आश्विन २०७८ १३:५९ मंगलबार

कुष्ठरोग निवारण