समाज

सिद्धपोखरीमा लाग्यो मेला

भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्ने गर्छ। यसपालि मेला भर्न उपत्यकाका हजारौं श्रद्धालु सिद्धपोखरीमा आएका थिए।

मेलामा बिहानैदेखि भक्तपुरवासी–सहित अन्य पोखरीमा पुगेर स्नान गरेका थिए। वर्षभरिमा आज एक दिन मात्रै यो पोखरीमा स्नानको छुट छ। नगरपालिकाले यहाँ स्नान गर्न बन्देज लगाएको छ। नगरपालिकाले पोखरीमा डुबेर आत्महत्यालगायत दुर्घटना निम्तिने खतरा देखेर सुरक्षाका लागि २४सै घण्टा सुरक्षागार्डको व्यवस्था गरेको छ। सुरक्षालाई ध्यान दिँदै पोखरीभित्र राति जान रोक लगाइएको छ।

नगरकै सबैभन्दा ठूलो पोखरी सिद्धपोखरीमा यो दिन बिहान स्नान गर्ने मात्रै नभई पौडी खेल्नेको घुइँचो लाग्ने गर्दछ। करिब ५ सय मिटर लामो यो पोखरीमा वारपार गरेर पौडी खेल्ने प्रतिस्पर्धा नै चल्ने गर्छ। यसअघि आइतबार साँझ पोखरीमा खौमास्थित इन्द्रायणीको देवता पुर्‍याइएको थियो। 

खौमामा रहेको इन्द्रयणीको देवतालाई खटमा राखेर बाजागाजाका साथ भक्तपुर नगर परिक्रमा गराई पोखरीमा पुर्‍याइएको थियो। सोमबार बिहान भने मेला लागेको हो। इन्द्रायणी देवताको दर्शन र स्नानका लागि भक्तजन बिहानै पोखरी पुगेका थिए। मेलाको दिन साँझ इन्द्रायणी देवतालाई पोखरीबाट उठाएर बाँकी आधा नगर परिक्रमा गराई खौमास्थित इन्द्रायणी पीठमै पुर्‍याइएको छ।

इन्द्रायणी पीठका मूल पुजारी गोविन्द मल्लले खासमा यो इन्द्रायणीको जात्रा भए पनि सर्वसाधारणले बढी सिद्धपोखरीको जात्राका रूपमा लिने बताए। इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमै मेला लाग्ने भएकाले यसलाई सिद्धपोखरी मेलाका रूपमा पनि बुझ्ने उनले बताए। 

संस्कृतिविद जननीप्रसाद मुलका अनुसार सिद्धपोखरी मेला इन्द्रजात्राकै एक सिलसिला हो। रोपाइँ सकेर पानी पर्न पुग्यो भनेर इन्द्रलाई सन्देश पुर्‍याउने रूपमा यो इन्द्रायणी मेला हुने गरेको उनले बताए। भक्तपुर नगरका सानाठूला ३४ पोखरीमध्ये सिद्धपोखरी सबैभन्दा आकर्षक अनि ठूलो हो।

प्रकाशित: ५ आश्विन २०७८ ००:२७ मंगलबार

भक्तपुरको सिद्धपोखरी इन्द्रजात्रा