समाज

सिद्धपोखरीमा दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली गर्ने गरिन्छ। 

स्थानीयको अगुवाइमा साँझ त्यहाँ दीपावली गरिएको हो। पोखरीको चारैतिर तल र माथि गरी दुई तलामा लहरै दियो राखी दीपावली गरिएको हो। बताइएअनुसार त्यसका लागि झन्डै १ हजार ३ सयभन्दा बढी दियो आवश्यक हुन्छ। दीपावलीका लागि स्वयंसेवकका रूपमा स्थानीय वडावासी खटिएका थिए।

यसअघि खौमास्थित इन्द्रायणीको देवता पोखरीमा पुर्‍याइएको थियो। खौमामा रहेको इन्द्रायणीको देवतालाई खटमा राखेर बाजागाजाका साथ भक्तपुर आधा भक्तपुर नगर परिक्रमा गराई पोखरीमा पुर्‍याइन्छ। पोखरीमा पुर्‍याएको देवताको स्वागतार्थ दीप प्रज्वलन गर्ने परम्परा छ। दीपावलीको साँझ हेर्न हजारौं भक्तपुरवासी पोखरी पुगेका थिए।

 सिद्धपोखरी जिल्लाकै सबैभन्दा ठूलो पोखरी हो। भक्तपुर नगरका सानाठूला ३४ पोखरी छन्। पोखरीको चारैतिर परम्परागत रूपमै पर्खालले घेरिएको छ। पोखरीमा माछा पालेर राखेकाले पनि यो थप आकर्षको केन्द्र बनेको छ। साथै पोखरीको वरिपरि बगैंचा छन्। बगैंचा हेरचाहका लागि मात्रै भक्तपुर नगरपालिकाले त्यहाँ कर्मचारी र सुरक्षाका लागि गार्डलाई खटाउँदै आएको छ। पोखरी घुम्न सामान्य दिनमा मात्रै पनि दैनिक हजारौं प्रकृतिप्रेमी पोखरी पुग्छन्।

प्रकाशित: ४ आश्विन २०७८ ०२:५० सोमबार

इन्द्रजात्रा भक्तपुरको सिद्धपोखरी भक्तपुर नगरपालिका–१ दूधपाटी इन्द्रायणीको देवता