समाज

हिंस्रक बाघ नियन्त्रणमा आएन

राप्तीसोनारी गाउँपालिका–१, गाभारस्थित बाँके राष्ट्रिय निकुञ्ज नजिकै मिथुन केसीको घर छ। हप्तादिनदेखि उनको परिवार घरमा सुःख शान्तिका साथ बस्न सकेको छैन। हिंस्रक बाघ यताबाट आउँछ कि उताबाट आउँछ भन्दै त्रासका बीच उनीहरुको दैनिकी बितिरहन्छ। 

निकुञ्जमा मान्छे खाएको हिंस्रक बाघ घुमिरहेको देखिँदा उनीहरु जस्तै गाभार र निकुञ्ज आसपासका बासिन्दा त्रसित भएका छन्। बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिने अनेक प्रयास गरे पनि मान्छे खाने बाघलाई नियन्त्रण गर्न नसक्दा यहाँका बासिन्दाहरु त्रसित भएका हुन्।

फेरि बाघ आएर मान्छेलाई खाने हो की भन्ने डरले गाउँ त्रसित भएको छ। अहिले आफूहरु घर बाहिर निस्किन समस्या भएको स्थानीयको भनाइ छ। निकुञ्जले बाघ नियन्त्रण गर्न निकुञ्जमा बाघलाई आहारासमेत दिएको छ। तर बाघले उक्त आहारा नखाँदा नियन्त्रणमा लिन समस्या भएको छ। 

‘बाघ कतिबेला आउँछ भन्ने डरले दैनिक कामकाज प्रभावित भएका छन्,’ स्थानीय चन्द्र लामाले भने, ‘एक्लै हिँड्डुल गर्न र काममा निस्कन सकिएको छैन।’ बाघ भदौ २९ गते गाभार नजिकै जंगलमा देखिएको थियो। त्यसयता बाघ नदेखिए पनि सडक ओहोरदोहोर गरिरहेका हुन सक्ने स्थानीयको आँलकन छ। बाघ नियन्त्रणमा नआउँदा गाउँनै त्रसित भएको अर्का स्थानीय झुपबहादुर विष्ट बताउँछन्।

‘बाटो घाटोमा एक्लै हिँड्न सक्ने स्थिति छैन,’ उनी भन्छन्, ‘घरमा पनि एक्लै बस्न गाह्रो छ।’ बाघ नियन्त्रणमा आएको भए त्रास कम हुने उनको भनाइ छ। ‘दिउँसो गोठालो गएको मान्छे साँझ घर फर्किन्छ कि फर्किंदैन भन्ने भइसक्यो,’ उनले भने, ‘बस्तीको छेउछाउमै बाघ आउन थालेपछि हामी त्रसित छौं।’ दिउँसो मात्रै होइन, राति पनि शौच गर्न निस्किँदा पनि डर हुने गरेको उनको भनाइ छ।

गत आइतबार राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित गाभारमा ४५ वर्षीय पुरुषलाई पाटेबाघ खाएको थियो। त्यसको भोलिपल्ट ती पुरुषलाई आधा शरीर बाघले खाएको अवस्थामा स्थानीयले भेटाएका थिए। त्यसपछि बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिन अनेक उपाय गरेको छ। निकुञ्जले बाघ नियन्त्रणमा लिन ६ वटा सेन्सर क्यामेरा जडान गरेको थियो भने दुईवटा घरपालुवा हात्तीसहित ठूलो संख्यामा नेपाली सेना परिचालनसमेत गरेको छ। आहारासमेत नखाँदा बाघ नियन्त्रणमा लिन समस्या भएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।  

राजमार्गको दुवैतिर वनजंगल भइ पाटेबाघलगायतका हिंस्रक वन्यजन्तु ओहोरदोहोर गर्नुको साथै बस्तीमा समेत निस्किने सम्भावना भएको, यस्ता वन्यजन्तुले मानिसलाई आक्रमण गरी घाइते बनाउने तथा मार्ने सम्भावना भएको हुँदा सर्वसाधारणहरु सचेत हुनेपर्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जनाए। 

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने त्यस क्षेत्रमा स्थानीय मानिसहरु च्याउन संकलन गर्न, घाँस दाउरा संकलन गर्न निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा प्रवेश गर्ने गरेको पाइएकोले पाटे बाघलगायतका हिंस्रक वन्यजन्तुबाट आक्रमण हुनसक्ने सम्भावनालाई रोक्न स्थानीय सजग हुनुपर्ने उनको भनाइ छ। सेन्सर क्यामेरामा पनि उक्त बाघ नदेखिएको उनको भनाइ छ। ‘प्रयास गरिरहेका छौं,’ उनले भने, ‘देखिनासाथ हामी नियन्त्रण गर्ने तयारी गरेका छौं।’

बाघ जंगलभित्रै रहेकाले अहिले त्यति धेरै जोखिम नभएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए। ‘मान्छे खाएको बाघ गाउँमै पसेर मान्छे लतारेर खाएको होइन,’ उनले भने, ‘मान्छे साँझपख जंगल छेउमा गएकाले खाएको हो।’ बाघ जंगलमा आहारा र सुरक्षित बास स्थान भएन भने बस्ती पस्ने भन्दै उनले भने, ‘निकुञ्जमै बाघलाई पर्याप्त आहारा र बास स्थान छ।’ उक्त घटना पछि गाउँमा सरसफाइ अभियान चलाइएको उनका भनाइ छ। घर वरिपरिका बुट्यानमा कहिलेकसो रातिमा बाघले बासस्थान सम्झेर बस्न खोज्दा जोखिम हुने भन्दै सरसफाइ अभियान चलाइएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।

स्थानीय प्रशासनले पूर्व–पश्चिम राजमार्गको शिवखोलाखण्डमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म पैदल, मोटरसाइकल, साइकल यात्रा गर्न रोक लगाएको छ। दिउँसो पनि समूह बनाएर वा ठूला सवारी साधनको बीचमा पठाउने गरिएको छ। हाल बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन्।

प्रकाशित: ३ आश्विन २०७८ १२:२४ आइतबार

हिंस्रक बाघ नियन्त्रणमा आएन