समाज

मानव बेचबिखन र बाल संरक्षणबारे भक्तपुरमा अभिमुखीकरण

भक्तपुरमा मानव बेचबिखन बाल संरक्षणबारे अभिमुखीकरण  भएको छ। सेन्टर फर लिगल रिसर्च एण्ड रिसोर्स डेभलम्प्मेन्ट(सेलर्ड) ले भक्तपुरका सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गरेको हो। ‘सुरक्षाका लागि साथ– साथ परियोजना’अन्तर्गत सञ्चारर्मीहरुलाई मानव बेचबिखन र बाल अधिकार संरक्षणका विषयमा जानकारी दिन र पीडितको अधिकारबारे दक्षता वृद्धि गर्नका लागि सेलर्डले सो कार्यक्रम आयोजना गरेको हो।

अभिमुखीकरणमा काठमाडौं स्कूल अफ ल का सहप्राध्यापक कपिल अर्यालले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अवधारणा, कानूनी व्यवस्था र अन्तर सम्बन्ध विषयमा कक्षा सञ्चालन गरेका थिए। उनले विभिन्न खाले प्रलोभनमा पारी अशिक्षितलाई मात्र नभएर शिक्षित व्यक्तिलाई समेत बेचबिखन गर्ने गरिएको बताउँदै मानव बेचविखनविरुद्ध सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।

मानब बेचविखन अन्त्यका लागिस्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने जनाउँदै सहप्राध्यापक अर्यालले नेपालका बाल गृहहरु नै बालअधिकार हननको केन्द्र बनिरहेको जानकारी दिए। उनले बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाएर शहरमा ल्याउने गरेको बताउँदै बाल अधिकार संरक्षणका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताए।

उनले बाल अधिकार र बाल संरक्षणको विषयमा स्थानीय तहलाई अधिकार दिइएको उल्लेख गर्दै अझ पनि बाल अधिकारको विषयलाई स्थानीय तहले प्राथमिकतामा राख्ने नगरेको बताए।

‘स्थानीय तहका जनप्रतिनीधिको ध्यान बाल अधिकार संरक्षण र बाल संरक्षणमा भन्दा बाटो बनाउनेमा बढी छ, बालबालिकाको बजेट समेत अन्यत्र खर्च गर्ने गरेको छ’ उनले भने, ‘स्थानीय सरकारले बालबालिकाको हितका लागि खासै उल्लेख्य काम गर्न सकेको छैन।’

सोही कार्यक्रममा अधिवक्ता सुखदेव सापकोटाले पीडितको अधिकार, पीडित केन्द्रीत न्याय व्यवस्था र त्यसको कार्यान्वयन विधि, बाल संरक्षणसम्बन्धी अवधारणा र मूलभूत कानूनी व्यवस्था, पीडित केन्द्रीत समाचार सम्प्रेषणबारे कक्षा सञ्चालन गरेका थिए।

उनले पीडितलाई न्याय हुने गरी सञ्चारकर्मीहरुले समाचार, सूचना प्रकाशन र प्रशारण गर्न जरुरी रहेकोमा जोड दिँदै न्याय र समतामूलक समाज निर्माणमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए। उनले अझ पनि बाल अधिकारको भरपूर उपयोग गर्न नपाउँदा बालबालिकाहरु समस्यामा पर्ने गरेको, बालबालिकाहरु विभिन्न खाले यौन दुव्र्यहार, यौन हिंसाको सिकारमा पर्न बाध्य भएको बताए।

अधिवक्ता सापकोटाले मावन बेचबिखन, मानव तस्करी, ओसारपसारजस्ता विषय गहन र मानव अधिकारसँग जोडिएकाले सोबारेमा समाचार सम्प्रेषणको क्रममा संवेदनशीलता अपनाउनुपर्ने बताए।

अन्तरक्रियात्मक रुपमा भएको अभिमुखीकरणमा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव संजिप घिमिरेल आयोजक सेलर्डका जमूना पसछेंलगायतले बाल संरक्षणका विषयमा आफ्नो अनुभव सुनाएका थिए।

प्रकाशित: २९ भाद्र २०७८ ११:१७ मंगलबार

मानव बेचबिखन बाल संरक्षण