समाज

भेटिएनन् हराएका किशोरी

बाँकेस्थित कोहलपुर नगरपालिका–५, की गहुगोरो वर्ण भएकी १७ वर्षीया गरिमा कार्की र सनम सारु गत माघ ९ गते परिवारको सम्पर्कविहीन भइन। हप्ता दिनसम्म छोरीहरू घरमा नआएपछि परिवारले प्रहरी गुहारे। तर उनीहरू जिउँदो छन् या मृत्यु भइसक्यो परिवार बेखबर छ। उनीहरू जस्तै राप्तीसोनारी गाउँपालिका–९, की १७ वर्षीया सीता ओली पनि गत माघ १२ गते हराइन्। अहिलसम्म उनी पनि सम्पर्कविहीन छिन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत वर्ष तीन सय २२ जना हराएका थिए। जसमध्ये दुई सय ४९ जना भेटिएका छन्। ति भनेका परिवारलाई जानकारी नगराएर आफन्तको घर, विवाह गरेको र साथीभाईको घरमा गएकाहरू हुन्। 

गत वर्ष हराएका ७३ जना अझै भेटिएका छैनन्। यस आर्थिक वर्षमा ७४ जना हराएको जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला सेलले जनाएको छ। जसमध्ये १६ जना फेला परेका छन् भने २२ जनाको खोजी भइरहेको प्रहरी नायब निरीक्षक (सइ) दिलसरा राना क्षेत्रीले जनाइन्।

 ‘केही सामान्य घरायसी विवाद हुँदा पनि किशोरीहरू वेपत्ता हुन्छन्,’ उनले भनिन्, ‘छरछिमेक, आफन्त, साथीभाइकहाँ सोधखोज गर्दा भेटिन्छन्।’ नभेटेपछि अभिभावकले माइती नेपाल र प्रहरीमा खबर गरे। एक महिनापछि उनी भारतको पुनेमा फेला परिन्।

अहिलेसम्म हराएका किशोरीहरू सम्पर्कमा नआउँदा परिवार विक्षिप्त भएका छन्। ‘छोरी आज आउँछे कि, भोलि आउँछेकी भन्दै कुरेर बस्छौं,’ किशोरी हराएका आफन्त भन्छन्, ‘तर आउँदैनन्।’ सन्तानको हराउँदाको पीडा उनीहरूलाई सम्हाल्न हम्मेहम्मे भएको छ। 

बाँके भारतसँग सीमा जोडिएकाले कतिपय किशोरी र बालिकालाई पैसाको प्रलोभन पारेर लुकाइछिपाइ भारतसमेत लिने गरिएको बताइएको छ। सीमा क्षेत्रमा नेपाल प्रहरी र माइती नेपाल पनि खटिएका छन्। शंका लागेको अवस्थामा सोधपुछ गरेर प्रहरी र माइती नेपाल उद्दार गरेका पनि छन्।  

तर उनीहरूलाई झुक्काएर कतिपयले भारतसमेत लिन सकेको हुन सक्ने कतिपय अभिभावकको शंका पनि छ। हराएकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम कृष्ण अधिकारीले बताए। ‘हराएका उजुरीहरू धेरै आउँछन्,’ उनले भने, ‘हराएकामध्ये धेरैको उद्दार गरेका छौं।’

प्रकाशित: २८ भाद्र २०७८ ०६:३९ सोमबार