समाज

'जहाँ पैसा, त्यहाँ ट्राफिक'

नेपालगन्जस्थित दरलाइनमा अस्तव्यस्त सवारी साधनहरू। यहाँ ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा दैनिक साँझपख जामसमेत हुने गर्छ। तस्बिरः गणेश/नागरिक

नेपालगन्जको बढी भीडभाड हुने क्षेत्र सेतुबिके चोक, सदरलाइन, न्यूरोड, भेरी अस्पताल अगाडि, सब्जीमण्डी, त्रिभुवन चोकलगायत नगरभित्रका सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। ट्राफिक प्रहरीको फितलो उपस्थितिले चालक मनलाग्दी सवारी साधन चलाउँछन्, पार्किङ गर्छन्। त्रिवेणी मोडबाट त्रिभुवन चोकसम्म चार पांग्रे सवारीसाधन प्रवेश निषेधसहितको सूचना बोर्ड छ। तर त्यसको पालना कसले गर्ने र कसले नियमन गर्ने ? जहाँ प्रवेश दिइएको छैन त्यहाँ निर्वाध चार पांग्रे सवारीसाधन कुदिरहेका छन्।

सूचना राखेको ट्राफिक प्रहरीको उपस्थिति नहुँदा उक्त सूचना प्रभावकारी हुन सकेको छैन। ‘यातायात व्यवस्थापन फितलो हुँदा सर्वसाधारणहरू हिँड्न सक्ने अवस्था हुँदैन,’ सदरलाइनका व्यवसायीले भने, ‘बिहानको समयभन्दा साँझतिर यहाँ जामनै लाग्छ।’ सहरी क्षेत्रका बजारमा ट्राफिक नियमको कुनै पालना छैन। अस्तव्यस्त ट्राफिक व्यवस्थापन हुँदा सदरलाइन साँझको समयमा जामसमेत लाग्ने गर्छ। ‘सवारी साधनको बाक्लो चापका कारण साँझ प्रायः जाम हुन्छ,’ बटुवा सञ्जु अहमद भन्छन्, ‘जाममा हुँदा समयमै गन्तव्यसम्म पुग्न सकिँदैन।’ तीन र चार पांग्रे सवारी साधनले यहाँको ट्राफिक व्यवस्थापनलाई चुनौती थपिएको भन्दै उनले भने, ‘सवारी साधनको बढी चाप हुने क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति हुन जरुरी छ।’ ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा यहाँ पछिल्लो समय सडक अस्तव्यस्त हुने गरेको उनको भनाइ छ। सडक सुरक्षामा ट्राफिक प्रहरी गम्भीर भएर लाग्नु पर्ने र सवारी चालकले पनि ट्रापिक नियम अनिवार्य पालना गर्नुपर्ने उनको भनाइ छ।

नगरभित्रका सडक अस्तव्यस्त हुँदा पनि ट्राफिक प्रहरीको उपस्थिति नहुनु र जहाँ ट्राफिक प्रहरीको उपस्थिति कम हुनुपर्ने त्यहाँ बढी हुँदा सर्वसाधारणले ट्राफिक प्रहरीप्रति शंका उत्पादन भएको छ, ‘जहाँ पैसा, त्यहाँ ट्राफिक।’ अव्यवस्थित सञ्चालन हुने यातायातका साधनले जोखिम मात्र बढाएको छैन ट्राफिक प्रहरीको कार्यकुशलता पनि प्रष्ट्याएको छ। नगरभित्रका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन भद्रगोल हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ भने सडक दुर्घटनाको पनि जोखिम उत्तिकै बढाएको छ।

‘भित्री सडकमा ट्राफिक प्रहरी हुँदैन। जसले त्यहाँ ट्राफिक नियम पालना प्रायःले गर्दैनन्,’ अटो चालक राजु बर्माले भने, ‘बजारभित्रका केही ठाउँमा जाम हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन सकिँदैन।’ नगरभित्र ट्राफिक प्रहरीको उपस्थिति नगन्ये नहुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ भने राजमार्गहरूमा ट्राफिक प्रहरीको चेकिङले यात्रुलाई हैरानी छ। ठाउँठाउँमा ट्राफिक प्रहरीको उपस्थितिले यात्रुले हैरानी खेप्नु परेको छ। ट्राफिक प्रहरीले गाडीमा क्षमताभन्दा बढी यात्रु राख्दा, तथा अन्य ट्राफिक नियम उल्लंघन गर्दा कारबाही गर्नुको साटो पैसा असुल्ने गरेको आरोप लाग्दै आएको छ। 

सामान्य तथा विशेष परिस्थितिमा समेत ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लंघनकर्ताहरूलाई जरिवाना गराउने, सडक दुर्घटनाको प्रभावकारी अनुसन्धान, घाइतेको उद्दार गरी पीडितलाई न्यायमा सहजीकरण गर्ने गर्दछ। यस्तै हराएका सवारी साधन तथा मालसमानहरूको खोजतलास गर्नु र ट्राफिक जनचेतनाको अभिवृद्धिसहितको ट्राफिक व्यवस्थापनसम्बन्धी सूचना प्रवाह गर्नुका साथै यात्रुको सुरक्षित एवम् मर्यादित यात्रा गर्न पाउने अधिकार सुनिश्चित तथा सडक सभ्यता कायम गरी दुर्घटना न्यूनीकरणका लागि सम्पूर्ण प्रयास गर्नु ट्राफिक प्रहरीको महत्वपूर्ण कार्यभित्र पर्दछ।

ट्राफिक प्रहरीले बेलाबेला ट्राफिक व्यवस्थापनसम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएको छ। तर उक्त कार्यक्रम प्रभावकारी नहुँदा नेपालगन्जको ट्राफिक व्यवस्थापन कमजोर अवस्थामा छ। नेपालगन्जमा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सीमित सडकहरू, सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी सडक प्रयोगकर्ताहरूमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरूबाट समेत ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृतिका कारण ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एवम् चुनौतीपूर्ण बनेको छ। यसका साथै नेपालगन्ज, कोहलपुर सहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधारहरू निर्माण हुन नसक्नु, सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवम् अवैज्ञानिक प्रतिस्पर्धा रहेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ। 

सडक र यातायातसँग सम्बन्धित पक्षले यस्ता चुनौतीलाई अवसरका रूपमा लिएर यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै अल्पकालीन तथा दीर्घकालीन कार्य योजना तयार गरी कार्यान्वयन गर्नु आवश्यक रहेको सर्वसाधारणहरूको भनाइ छ। ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा यहाँका सडकमा सडक दुर्घटनासँगै यात्रुहरूलाई झन्झटिलो यात्रा हुने गरेको छ। तीन पांग्रे सवारी साधनलाई व्यवस्थित गर्न सके पनि मात्र ट्राफिक व्यवस्थापनमा केही सुधार हुने स्थानीयको भनाइ छ।

पहिलेको भन्दा अहिले ट्राफिक व्यवस्थापनमा सुधार आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक राजु भण्डारीले बताए। ‘स्थानीय क्लबसँग मिलेर बेलाबेला जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘सहरी क्षेत्रभन्दा राजमार्ग अलि जोखिम हुँदा ट्राफिक प्रहरी त्यता अलि बढी परिचालन भएको छ।’ ट्राफिक प्रहरी पैसाभन्दा जनताको सुरक्षा र नियम कानुनको पालना गराउने हुँदा आरोपमा सत्यता नभएको उनको भनाइ छ।

प्रकाशित: २७ भाद्र २०७८ ०४:०८ आइतबार