प्रदेश २ को सर्लाहीबाट बिहीबार नागरिकता घुम्ती सहयोग केन्द्र अभियानका रूपमा सुरु गरिएको छ। पुस्तौंदेखि नेपालमा बसोबास गरे पनि जानकारी अभावमा र अन्य विभिन्न कारणले नागरिकता प्राप्तिबाट वञ्चित रहेकाहरूलाई नागरिकता दिलाउन सघाउने उद्देश्यले यो अभियान सुरु ग्रिएको बताइएको छ।
‘पुस्तौंदेखि नेपालमैं बसोबास गरेर पनि कागजी प्रक्रिया पूरा गर्न नसकेर, प्रहरी प्रशासनसमक्ष पुगी आफ्नो समस्या राख्नसमेत नसक्ने भएर र भएको कागजात प्रमाण पनि जोगाउन नसकेका नागरिकलाई नागरिकता बनाउनमा प्राविधिक र प्रक्रियागत कार्यमा सहयोग गर्न यो अभियान सुुरु गरेका छौं,’ भूमिपुत्रलाई नागरिकता अभियान चलाएका भोर संस्थाका संस्थापक राजकुमार महतोले भने, ‘यस्तोमा खास गरी दलित समुदायका मानिसहरू धेरै छन्, पतिको नागरिकता भएर पनि आफ्नो लिन नसकेका महिला पनि धेरै छन्, केही गैरदलित पनि यस्तो समस्याबाट पिल्सिएका छन्।
पहुँच, जानकारी र सचेतना अभावमा उल्लेखनीय संख्यामा खासगरी दलितहरूले नेपालको पुस्तैनी बासिन्दा भएर पनि नागरिकता लिन नसकेका समाचारहरू स्थानीयदेखि राष्ट्रिय सञ्चारमाध्यममा उजागर हुँदै आएका छन्। एकातिर पहँुचकै आधारमा वा विभिन्न जुक्ति लगाएर भारतीय नागरिकहरू नेपाली नागरिकता हात पारेर चाहिनेनचाहिने हर्कतहरूमा सामेल भइरहेका बेला अर्कोतिर वास्तविक नागरिकहरू भने नागरिकताविहीन रहेकोमा यस अभियानले सहयोग गर्ने बताइएको छ।
नागरिकता घुम्ती सहयोग केन्द्रबाट प्रदान गरिने एकीकृत निःशुल्क सेवा भोरले प्रदान गर्ने जनाइएको छ। यसअन्तर्गत निःशुल्क नागरिकता फाराम उपलब्ध गराउँदै स्वयंसेवकमार्फत भर्ने, हुलाक टिकट, नागरिकताका लागि फोटो, आवश्यक कागजातको फोटोकपी तथा फाइल तयार गर्ने, वडा कार्यालय स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयसित समन्वय, सहजीकरण गर्ने र यसक्रममा कोभिड–१९ संक्रमण रोकथामा सहयोग पु¥याउन निःशुल्क मास्क र सेनिटाइजर प्रदान गर्नेजस्ता काम गर्ने भनिएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट सुरु भएको कार्यक्रम बिस्तारै प्रदेश २ को आठवटै जिल्ला र १ सय ३६ वटै स्थानीय तहमा कार्यान्वयन गर्ने योजना रहेको महतोले बताए। उनका अनुसार यसमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरूको सहयोेग रहेको छ।
प्रकाशित: २५ भाद्र २०७८ ०६:२२ शुक्रबार