समाज

गाउँपालिका अध्यक्षको १३ औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा

जानकी गाउँपालिका कार्यालयमा गरिएको श्रद्धाञ्जली सभा । तस्बिर : नागरिक

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको १३ औं दिनको पुण्यतिथिका अवसरमा बिहीबार श्रद्धाञ्जली सभा गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता गाउँपालिका कार्यालयमा श्रद्धाञ्जली सभा गरिएको हो।  

सभालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले अध्यक्ष यादवको निधनले गाउँपालिकाले अभिभावक गुमाउनु परेको बताईन्। गाउँपालिकाका संस्थापक अध्यक्षको रुपमा यादवले स्रहानीय कार्य गरेको उनले स्मरण गरिन्।  

प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गाउँपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा जनमुखी कामहरु गरेको बताए। जनताका पक्षमा काम गर्न कर्मचारीलाई सदैव मार्गनिर्देश गर्ने अभिभावक गुमाउनु पर्दा गाउँपालिका शोकमग्न रहेको उनले जोड दिए।  

गाउँपालिकाका राजनीतिक सल्लाहकार तथा एमाले नेता पदम धितालले अध्यक्ष यादवको निधनले गाउँपालिकाले कर्मशिल जनप्रिय नेता गुमाउनुका साथै पार्टीले असल र जिम्मेवार नेता गुमाएको बताए।  

गाउँपालिका अध्यक्ष यादवको ६२ वर्षको उमेरमा यही भदौं १२ गते शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा निधन भएको थियो। यादवका आमा, श्रीमती, दुई छोरा र दुई छोरी छन्। स्वर्गिय यादव २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: २४ भाद्र २०७८ १०:३५ बिहीबार