समाज

रौतहटमा बढ्यो आपराधिक घटना

जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रमुख नहुँदा जिल्लामा अपराधको घटनामा वृद्धि हुन थालेको जिल्लाबासीले आरोप लगाउन थालेका छन्। रौतहट प्रहरी प्रमुख एसपी नहुँदाको अवस्थामा जिल्लाका एक सञ्चारकर्मीलाई लागूऔषध मुद्दामा प्रहरीले नै फसाउने काम गरेको थियो भने डकैतीजस्तो ठूलो अपराधको घटना पनि भएको छ।  

नवजात शिशुको टाउकोमा पेस्तोल राखेर रौतहटको एक घरमा ठूलो डकैती भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरी गाउँका सरोजानन्द झाको घरमा नवजात शिशुको टाउकोमा पेस्तोल राखेर डाँकाहरुको एक समूहले लाखौं मूल्य बराबरको धनमाल लुटपाट गरेको छ।  

मुखमा मास्क लगाएर सोमबार मध्यराति १० जनाको संख्यामा आएका डाँकाहरु दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी गाउँ निवासी झाको घरमा प्रवेश गरी डेढ महिनाको नवजात शिशुको टाउकोमा पेस्तोल तेर्स्याएर लुटपाट गरेको पीडित परिवारले जनाए।  

सिँढीको मद्दतबाट घरमा प्रवेश गरेर डाँकाहरुको समूहले करिव २ घण्टासम्म लुटपाट मचाएर सुनचाँदीका बहुमूल्य गरगहना, नगदसहित २० लाखभन्दा बढीको सम्पत्ती लगेको पीडित झाको छोरा मुकेश झाले बताए। बुवाआमा सुतेको कोठालाई बाहिरबाट हैण्डल लगाईदिएर भाउजुको कोठा खोल्न लगाएर डेढ महिनाको नवजात भतिजाको टाउकोमा पेस्तोल राखेर घरका सबै दराजदेखि बाकससम्म फुटाई बहुमूल्य सामानहरु लगेको झाले दुखेसो पोखे।  

नातिलाई टाउकोमा पेस्तोल राखेपछि आफूसँग लाइसेन्स भएको बन्दुक हुँदाहुँदै केही गर्न नसकिएको सरोजानन्द झाले बताए। झ्यालबाट कराएपछि छिमेकीहरु होहल्ला गर्नासाथ डाँकाहरु पछाडीको ढोकाबाट भागेको झाको भनाइ छ। डाका समूह फरार भएको केहीबेरमै इलाका प्रहरी कार्यालय गंगापिपराको टोली आएर अनुसन्धान सुरु गरेको तथा उक्त घटनालाई जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी नारायणप्रसाद चिमोरिया आफै घटनास्थलमा पुगेर सूक्ष्म तवरबाट अनुसन्धान गरी दोषीहरुलाई चाँडै नियन्त्रणमा लिने बताए ।  

घरका सवै कोठाहरुमा रहेका दराज, ट्यांकाहरु फुटाली सामानहरु क्षतविक्षत अवस्थामा छरिएको हुँदा प्रारम्भिक अवस्थामा ५ लाखको सामान लुटिएको छ तर तीन छोरा र दुई बुहारी काठमाडौँमा रहेको हुँदा क्षतिको यकिन विवरण आउन सकेको छैन।  

जिल्लाको प्रहरी कमान्ड डिएसपी चिमोरियाले नै सम्हालेको समयमा पत्रकार मोजिबुल्लाहलाई लागूऔषध मुद्दामा फसाइएको थियो। अहिले पनि जिल्लाको कमान्ड डिएसपी चिमोरियाको हातमा रहेकै बखत जिल्लामा डकैतीजस्तो ठूलो अपराधको घटना भएको छ।

पत्रकारलाई बलजफ्ती लागूऔषध मुद्दामा फसाउने प्रहरीले घन्टौँसम्म डकैती गरी लुटपाट गर्ने अपराधीलाई समात्न नसकेकोमा जिल्ला प्रहरीको आलोचना भएको छ।

प्रकाशित: २२ भाद्र २०७८ १२:१२ मंगलबार