समाज

१९ वर्ष बन्धक बनाइएका विज्ञानलाई जुट्यो उपचार खर्च

बेपत्ता भएको १९ वर्षपछि शारीरिक र मानसिक रुपमा अशक्त बनेर घर फर्किएका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई उपचार खर्च जुटेको छ। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौँ सानेपाबाट बेपत्ता बनेपछि एकैचोटी गत बैसाख २ गते घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) आइपुगेका विज्ञानलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ९१ हजार ३७२ रुपैयाँ सहयोग रकम जुटेको हो।  

फियो निकालिएको, पेट र खुट्टामा चोटको खाटा लागेको तथा विक्षिप्त अवस्थामा घर आइपुगेका विज्ञानको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका सहयोगी/शुभेच्छुकबाट सहयोग रकम जुटाइएको हो। संकलित रकम कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति प्रेमबहादुर बस्नेतले सोमबार विज्ञानका आमा देबकुमारी कोइराला र भाई सुवासलाई हस्तान्तरण गरेका छन्।

कांग्रेस जन्तेढुंगा गाउँपालिका उपसभापति रहेका बिष्टले विज्ञानको फियो लगायतका शारीरिक र मानसिक रोगको उपचारका लागि फेसबुकबाट आव्हान गरेपछि हाल कोरियामा रहेका विनोद कोइरालाको पहलमा ५१ हजार ७७७ रुपैयाँ, कोरियामै रहेका मिलन खड्काको पहलमा २२ हजार ९५ रुपैयाँ, साउदी अरबमा रहेका दाङका महेश चौधरीबाट ५ हजार, जापानमा रहेका भुवन खड्काबाट ५ हजार र मलेसियामा रहेका हरि बस्नेतबाट ५ हजार रुपैयाँ सहयोग रकम जुटेको अभियन्ता बिष्टले बताए।

स्वदेश तथा विदेशमा रहेका दाताबाट प्राप्त भएको रकममा स्वयं विष्टले ५ हजार थप गरेर विज्ञानका परिवारलाई हस्तान्तरण गरेका हुन्। 

प्रकाशित: २२ भाद्र २०७८ ११:४४ मंगलबार

शारीरिक र मानसिक नगरपालिका