समाज

‘मनि ट्रान्सफर'को छानामा युवकको शव फेला

पर्साको धोबिनी गाउँपालिका–४ लंगडी चोकमा आइतबार साँझ एक युवकको शव बरामद भएको छ। चोकमा रहेको ‘मारिया मनी ट्रान्सफर’को छानामाथि शव फेला परेको प्रहरीले जनाएको छ। सोही ठाउँका सडक पारी आमनेसामने रहेको एनआइसी एसिया बैंकको शाखा कार्यालयमा बितेको शुक्रबार बिहान भएको चोरीको घट्नासंग यस घट्नाको सम्बन्ध हुन सक्ने प्रहरीको भनाई छ।  

आइतबार साँझ शव देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय लंगडीलाई जानकारी गराएका थिए। मनी ट्रान्सफरको छानाबाट भित्र जान खोज्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। शव कुहिन सुरु भएर त्यसबाट गन्ध आईरहेको प्रहरीले जनाएको छ। मृतककाे हुलिया हेर्दा २२/२३ वर्षको मुस्लिम समुदायका युवा रहेको बताइएको छ।  

गत बिहीबारको रातमा शुक्रबार बिहान हुनु अगाडि त्यहाँ एनआइसी एसिया बैंकको शाखा कार्यालयमा चोरीको घट्ना भएको थियो। ‘घट्नाको प्रकृति हेर्दा यो दुबै घट्ना सम्बन्धित रहेको जस्तो लाग्छ,’ पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने। बैंकको शाखा कार्यालयमा मुल गेटको सटरको ताल्चा ग्यास कटले फोडेरभित्र पसेर चोरहरुको समूहले पैसा राख्ने ‘लकर’ फुटाउने प्रयास गरेका थिए। त्यहाँबाट ल्यापटप लगायत केही सामान गायब पनि छ। 

प्रहरीका अनुसार सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिए अनुसार शुक्रबार बिहान १ बजेर ५० मिनेटको समयमा ‘रेनकोट’ लगाएका दुई जना ब्यक्तिहरुले अक्सिजन सिलिण्डरसहितको ग्यास कटर मेसिनले मुख्य सटरको ताल्चा काटेर भित्र पसेको देखिन्छ।  

फेला परेको मृतकको हुलिया मेल खाइरेहको र शवको अवस्था हेर्दा अनुमानित समय पनि मिलिरहेको देखिएको प्रहरीको भनाई छ। चोरहरु भित्र पसेर बैंकमा जडान गरिएका ५ वटा सिसिटिभी क्यामेराको तार चुडोलेको देखिन्छ। प्रहरी उपरीक्षक पाण्डेका अनुसार चोर समूहले घट्नामा प्रयोग भएको ग्यास सिलिण्डर र अन्य औजार घट्नास्थलमा छोडेर भागेका थिए। स्थानीय प्रहरी चौकीको गस्ती टोली उक्त ठाउँमा तीन बजे गस्ती गर्न पुगेपछि ‘प्रहरी आएको’ भन्ने थाहा पाएर उनीहरु चोरीमा प्रयोग गर्न ल्याएका सामानहरु छोडेर भागेको हुन सक्ने प्रहरीको अनुमान थियो।

‘चोरीको घट्नामा सामान्य रुपमा त्यस्तो अनुमान गरेका थियौं। थप अनुसन्धान भइरहेकै छ, यसैबीच शव फेला परेको हो,’ पाण्डेले भने, ‘प्रहरीको गस्ती थाहा पाएर भन्दा आफ्नै समूहका ब्यक्ति मरेपछि उनीहरु भागेको हुन सक्छन्।’

बैंक र मनि ट्रान्सफर दुबैमा एकसाथ चोरी गर्ने उद्देश्यले आएकाहरु २/३ जना बैंकतिर अरु बाँकी जना मनि ट्रान्सफरतिर पसेको बेला दुर्घटनामा परेर एक जनाको ज्यान गएपछि बाँकी फरार भएको प्रहरीको अनुमान छ। मृतकको सनाखत हुन सकेको छैन। कर्कटले छाएको मनि ट्रान्सफरभित्र उनीहरुले छानाबाट पस्ने प्रयासमा फल्स सेलिङ्गबाट विद्युतको करेन्ट लागि मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

सडकतिर अग्लो र अर्कोतिर होचो गरी राखिएको कर्कट पाताको छानोमा शव मानिसहरुले हेर्न सकेका थिएनन्। २ दिनपछि दुर्गन्ध फैलिएपिछ मानिसहरुले हेर्दा शव देखिएको थियो।

प्रकाशित: २१ भाद्र २०७८ १२:५३ सोमबार