समाज

काठमाडौँमा भारी वर्षा: बस्तीमा बाढी पस्यो, ३ सय ८५ घर डुबानमा

गएरातिदेखि निरन्तर परेकाे अबिरल वर्षाले काठमाडाैंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। उपत्यकामा ३ सय ८५ घर डुबानमा परेका छन्। 

बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए। उनका अनुसार काठमाडाैँ उपत्यकाकाे मुलपानी, मनाेहरा, बल्खु, बाेड, सानेपा, कालाेपुल लगायतका क्षेत्रका घर डुबानमा परेका छन्। यस्तै डुबानमा परेका सानेपाबाट १५ जना मजदुरकाे उद्धार गरिएको छ। 

हालसम्म डुबानमा परेका २ सय ३८ जनालाइ प्रहरीले उद्धार गरेको छ। शंखमुलको खोला किनारको सडकसम्मै बाढी आएको छ। विशेषगरी खोला किनारका सुकुम्बासी बस्तीहरु बढी प्रभावित भएका छन्।

गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ। पानीको सतह सडकसम्मै आएपछि नदी किनारका सडकहरु अवरुद्व भएका छन्। अन्यत्र पनि सडकमा भरिएको पानीका कारण ट्राफिक व्यवस्था प्रभावित भएको छ। बाढी र डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

काठमाडौं अति भारी वर्षा मापन भएको मौसमविद् मिनकुमार अर्याल बताउँछन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा बिहानपख ३ बजेदेखि ६ बजेसम्मको अवधिमा १ सय ५ मिलिमिटर वर्षा मापन भएको छ।

प्रकाशित: २१ भाद्र २०७८ ०४:०४ सोमबार

भारी वर्षा काठमाडौँमा डुवान