समाज

पहिराेले विद्यालयमा क्षति

फाइल तस्बिर

वर्षासँगै खसेको पहिराेले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ। 

शनिबार राति पहिराे जाँदा विसं २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भूकम्पप्रतिरोधी भवन क्षतिग्रस्त बनेको हो। एउटा कोठा कामै नलाग्ने गरी जगैदेखि भत्किएको र अर्को कोठामा आंशिक क्षति पुगेको विद्यालयका प्रधानाध्यापक मनोजकुमार विकले बताए।

उक्त भवनमा  कक्षा ७ र ८ चलाइन्थ्यो। भवन भत्किएपछि तत्कालै कक्षाकोठाको अभाव भएको प्रअ विकको भनाइ छ। “वडा कार्यालयमा क्षतिबारे जानकारी गराएका छौँ, विद्यालय पुनःनिर्माणमा पहल हुनेमा आशावादी छौँ”, प्रअ विकले भने। उनले दरबन्दी अभावलगायतका समस्या झेलिरहेको विद्यालयमा प्राकृतिक विपद्को मार थपिएको बताए।

विसं २०६७ मा स्थापना भएको विद्यालयमा चार शिक्षकको मात्र दरबन्दी छ भने बाँकी शिक्षक स्थानीय स्रोतबाट राखिएका छन्। विद्यालयले तल्लो तहदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ। विद्यालयमा १०७ विद्यार्थी छन्। 

कोरोना महामारीका बेला पनि टोल शिक्षालगायतका वैकल्पिक विधिमार्फत बालबालिकाको सिकाइ सहजीकरणलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ। 

प्रकाशित: २१ भाद्र २०७८ ०३:३२ सोमबार

वर्षासँगै खसेको पहिरा विद्यालय पुनःनिर्माणमा पहल विद्यालयमा प्राकृतिक विपद्को मार पहिरोले विद्यालयमा क्षति