समाज

विराटनगरको रथयात्रा खटयात्रामै सिमित हुने

हरेक वर्ष श्रीकृष्ण जन्माष्ठमीको भोलिपल्ट आयोजना गरिंदै आएको विराटनगरको रथ यात्रा यो वर्ष पनि खटयात्रामै सिमित हुने भएको छ। कोरोना महामारीका कारण रथयात्रा संभव नभएपछि खट यात्रा मात्रै गर्न लागिएको राधाकृष्ण राथयात्रा आयोजक समिति विराटनगरले जनाएको छ।

राधाकृष्ण रथयात्रा आयोजक समिति विराटनगरका अध्यक्ष बाबुराजा ओझाले कोरोना महामारीका कारण विगतमा जस्तो भव्य रुपमा रथ यात्रा आयोजना गर्ने अवस्था नभएका कारण यो वर्ष थोरै संख्यामा मात्रै मिनस भेला भएर परम्परागत खट यात्राका रुपमा रथ यात्राको परम्परालाई निरन्तरता दिन लागिएको हो। गत वर्ष पनि कोरोना महामारी कै कारण विराटनगरमा रथ यात्रा नगरी खट यात्रा मात्रै आयोजना गरिएको थियो। यो वर्षको खट यात्रा विराटनगरको विभिन्न भागको परिक्रमा गरी राधाकृष्ण मन्दिर तीनपैनीमा पुर्‍याएर समापन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।  

विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधा, कृष्णको युगल जोडी सवार भव्य रथ यात्रा आयोजना गर्ने परम्परा छ। विराटनगरमा १९८८ देखि खट यात्राका रुपमा रथ यात्राको सुरुवाद गरिएको थियो। त्यतिवेला भगवान राधाकृष्णको  युगल जोडीको मुर्तिलाई खट(खाट)मा राखेर नगरको परिक्रमा गरिन्थ्यो। विराटनगरमा आधुनिक रथ यात्राको सुरूवाद भने विसं २०२५ सालदेखि भएको हो। विराटनगरमा आयोजना हुने रथयात्रामा नेपाल र सीमावर्ती भारतीय जिल्लाहरूबाट लाखौं भक्तजनहरू सहभागि हुने गरेका थिए। 

प्रकाशित: १४ भाद्र २०७८ १३:०१ सोमबार

विराटनगरको रथयात्रा खटयात्रामै सिमित