समाज

सप्तकोसीमा बढ्यो पानीको बहाव, बल्यो रातो बत्ती

सप्तकोशी नदीमा पानीको बहाव दुई लाख १६ हजार ९४० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। शनिबार दिउँसो ४ बजेको मापनअनुसार पानीको बहाव निरन्तर बढ्दो गतिमा रहेको छ।कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३० वटा खुल्ला गरिएको छ। आवश्यता परेको खण्डमा अरु थप ढोका खोल्ने जानकारी दिइएको छ।  

कोशी ब्यारेजमा अहिले पश्चिम र पूर्वतर्फ खतराको संकेत रातो बत्ती बालिएको छ। यद्यपि, अहिलेसम्म पूर्वी तटीय क्षेत्रमा कुनै समस्या नरहेको प्रशासन कार्यालयले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख काट्ने बित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख कट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ। कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। सन् १९६८ मा ७ लाख ८८ हजार क्यूसेकसम्मको भार थामेको थियो। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको वहाव चार लाखभन्दा मुनी नै रहेकाले कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।

२०६५ भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोसी गाउँपालिकाका चारवटा बस्ती डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए। त्यो बेला तीन महिनाको निरन्तर प्रयासपछि सप्तकोसीलाई पुरानै धारमा फर्काइएको थियो। तत्कालिन समयमा पूर्वका मेची र कोशी अञ्चलको सम्पर्क देशका अरु भागसँग पुरै टुटेको थियो।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेपछि यात्रुहरुले डुंगाको जोखिमपूर्ण यात्रा गर्नु परेको थियो। डुङ्गामा यात्रा गर्दा थुप्रैले ज्यानसमेत गुमाएका थिए। एकपटक पूर्वी तटबन्ध भत्काएर फेरि पुरानै अवस्थामा फर्काएपनि कुनै पनि बेला विनासलीला मच्चाउन सक्ने खतरा भने हुने गर्छ।

प्रकाशित: १२ भाद्र २०७८ १२:०१ शनिबार

कोशी ब्यारेज सप्तकोशी नदी