समाज

छोराको दीर्घायुको कामना गर्दै मनाइयो तीन छठ्ठी पर्व

आफ्ना छोराको दीर्घायुको कामना गर्दै कपिलवस्तुका हिन्दू मधेसी समुदायका महिलाहरुले शनिबार तीन छठ्ठी पर्व मनाएका छन्। घर नजिकै कुश रहेको ठाउँमा उनीहरुले पूजापाठ गरी तीन छठ्ठी मनाएका हुन्। कोरोनाका कारण अधिकांश महिलाले आफ्नै घरमा पूजा गरेका थिए। भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड उनीहरुले  ब्रत र पूजापाठ गर्ने गर्दछन्।  

पर्वका दिन बिहानै ब्रतालु महिलाले महुवाको दतिवनलेले दाँत माझ्ने चलन छ। सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत, पूजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन्। छोरा हुने महिलाले सन्तानको सुख, शान्ति र दिर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिऊन् भनी यो ब्रत राख्ने चलन रहेको कपिलवस्तु नगरपालिका– १ राजपुरकी उर्मिला पासीले बताइन्। उनले तीन छठ्ठी माताको ब्रत बस्ने परिवारकै फलिफाप हुने विश्वास व्यक्त गरिन्।  

ब्रतका बेला कुशसँगै देवीहरुको मन्दिर पूजाआजा गर्ने प्रचलन छ। पूजाका लागि चिनी नहालेको दही, हर्दी, चामल महुवा र चनालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ। ब्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई गर्ने गरिन्छ।

कुशको पूजा गरी त्यसमा ६ वटा गाठो बाँध्ने गरिन्छ, कुशको सामुहिक पूजा सकिएपछि महिलाहरुले समूह बनाएर तीन छठ्ठी पर्वको कथासमेत सुनाउने गर्दछन्। केही वर्ष यता तीन छठ्ठी पर्व मान्ने महिलाहरुको संख्या बढ्दै गएको कपिलवस्तु नगरपालिका– ५ जमुहार टोलकी अनिता त्रिपाठीले बताइन्।

वैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए। तर पोखरीमा पानी नआएपछि उनले आफ्नो नातिको बली दिएपश्चात् पोखरीमा पानी निस्किएको थियो। त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको ब्रत राख्दा पुनः राजाको नाति जिवित भएको प्रसङ्ग जोडी यो ब्रत गर्ने प्रचलन रही आएको छ।

प्रकाशित: १२ भाद्र २०७८ ०७:१० शनिबार

दीर्घायुको कामना मधेसी समुदाय