समाज

एम्बुलेन्सले बिरामी नबोक्दा शिशुको ज्यान गयो!

दैलेखको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि रिफर गरिएका शिशुलाई एम्बुलेन्स चालकले लिन नमान्दा ज्यान गएकाे छ। बिरामी शिशुकाे अभिभावकसंग एम्बुलेन्समा लैजाने भाडा नभएकाेले चालकले लिन नमान्दा शिशुको मृत्यु भएको हो।  

निमोनियाले गम्भिर भएका शिशुलाई प्रदेश अस्पताल सुर्खेत लैजान रिफर गरिएको थियो। गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकले भाडा नदिएसम्म नजाने बताएपछि शिशुकी आमा मञ्जु विकले ऋण खोज्न  गाँउतिर भौतारिएकी थिईन्। ‘गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीलाई एम्बुलेन्स सुर्खेत पठाउन हारगुहार गरे।’ मञ्जु विकले भनिन्, 'उहाँले (गाउँपालिका अध्यक्ष) कुनै वास्तै गर्नु भएन। अनि एम्बुलेन्स भाडा जुटाउन ऋण खोज्न थाले तर पाईन्।’ ९ हजार रुपैँया भाडा नलिई नजाने एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मी र प्रहरीले भाडाको जिम्मेवारी लिने गरि अनुरोध गरेपछि मंगलवार राती १० बजे एम्बुलेन्स हिडाएका थिए। 

तर, ८ घण्टा ढिलो हिड्दा शिशुले बाटोमै ज्यान गुमाए। मंगलवार दिउँसो २ बजे एम्बुलेन्स चालकलाई अनुरोध गर्दा पैसा नदिए जाँदिन भनेर रोकिदाँ आफ्नो शिशुको विहान ४ बजे ज्यान गएको मञ्जुले बताईन्। गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले आफुले एम्बुलेन्स चालकलाई बिरामी लैजान भनेको तर चालकको बदमासी (ढिलाई) का कारण घटना ठुलो भएको बताए। ‘एम्बुलेन्स चालक किशोर विकलाई आफुले विरामी लैजान भनेको हुँ।’ अध्यक्ष शाहीले भने, चालकको बदमासीका कारण शिशुको ज्यान जान पुगेछ।’

प्रकाशित: ११ भाद्र २०७८ ०९:३९ शुक्रबार

एम्बुलेन्सले बिरामी नबोक्दा