समाज

गण्डकी प्रदेशः अझै घटेन कोरोना मृत्युदर

भदौको १० दिनमा मात्र ६६ जनाले ज्यान गुमाए

कोरोना भाइरस संक्रमणले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विहीबार नौजनाको ज्यान गयो । यो संख्या बुधबार १२ थियो । भदौको १० दिनमा मात्र गण्डकी प्रदेशमा मात्र कोरोनाबाट ६६ जनाले ज्यान गुमाएका छन । संक्रमितको संख्या पनि उत्तिकै छ ।  

कोरोनाको दोश्रो लहर कमजोर भएको भन्दै सरकारले निषेधाज्ञा खुला ग¥यो । गण्डकीको मुकाम पोखरामा अहिले जोरविजोर प्रणालिमा गाडी चलाएपनि बजार खुलमखुला छ । बजारमा मान्छेको भीड उत्तिकै छ । भित्रभित्र जमघट पनि चलिरहेको छ । त्यसले गर्दा संक्रमण ओरालो लाग्न नसकेको र मृत्युदर घट्न नसकेको भनाई चिकित्सकको छ । चिकित्सकका अनुसार गण्डकी प्रदेशमा मृत्युदर कमजोर हुन नसक्नुमा यहाँको हेलचेक्रयाँइ मुख्य कारक हो । प्रदेशमा अहिलेसम्म १२६८ जनाले कोरोनाबाट ज्यान गएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोना फोकल पर्सन डा. शरदचन्द्र बराल भन्छन्, ‘अहिले पनि बिरामीको जटिलता अझै कमजोर भएको छैन । मृत्युदर पनि उत्तिकै रहेको छ । यसले अवस्था डरलाग्दो रहेको पुष्टि गर्छ ।’ बरालका अनुसार अहिले पनि अस्पतालमा जटिल स्वास्थ्य अवस्थाका बिरामी बढिरहेका छन । कपितय बिरामी बेलैमा अस्पताल नआउँदा उनीहरुको शारिरिक अवस्था जटिल बनिरहेको छ ।  

प्रदेशकै ठुलो यो अस्पतालमा कास्कीका मात्र नभई आसपासका जिल्लाका बिरामी पनि उपचारार्थ आउने गरेका छन् । अन्य जिल्लाका धेरै बिरामी अवस्था कमजोर भएपछि मात्र अस्पताल आउने गर्दा उनीहरुलाई बचाउन नसकिएको बरालले बताए । ‘अस्पतालसम्म आइपुग्दा अवस्था जटिल बनिसकेको हुन्छ । हामीले सक्दो प्रयास गर्दा पनि बचाउन सक्दैनौ,’ उनले भने,‘बिरामी पर्नासाथ आउने हो भने उनीहरुलाई बचाउन सकिन्छ । तर, अवस्था निकै नै जटिल भएपछि अस्पताल आउँदा उनीहरुलाई बचाउन सकिएको छैन ।’  

सर्वसाधारण नागरिकले कोरोना सहजै जित्न सकिन्छ जस्तो गर्दा पनि अहिले संक्रमण दर घट्न नसकेको र त्योसँगै मृत्युदर पनि बढेको उनले बताए । ‘सर्वसाधारणको हेलचेक्रयाँइ यति छ की मास्क पनि लगाउन छाडेका छन । कोरोना नै नभएको जस्तो सर्वसाधारणले व्यवहार देखाएका छन,’ उनले भने ।  

बरालको अनुभवमा कोरोनाको चेनब्रेक रोक्न निषेधाज्ञा लागु गरिएको भएपनि अहिले त्यो चेन पुन जोडिएको अनूभूति भएको छ । लकडाउन खुकुलो भएसँगै नागरिकमा निस्फिक्रि हिडडुल गर्न थालेका छन । सार्वजनिक सवारीमा खचाखच यात्रुले यात्रा गरेका छन । त्यसले गर्दा पनि संक्रमण बढाउन सघाएको छ । स्थानीय प्रशासनले कोरोना रोकथाम गर्न कडाइ गर्नु भनेपनि नागरिकले त्यसलाई गलत रुपमा बुझेको उनले बताए । ‘अस्पतालमा बेड संख्या बढाएर मात्र हुँनैन, पब्लिकलाई कोरोनाबाट जोगिने गरि सचेत पनि गराउनुपर्छ,’ उनले भने ।  

बरालका अनुसार अहिले पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड ओपीडिमा अहिले पनि दिनमा ५० जनाको हाराहारीमा परीक्षणका लागि आउँछन । ती मध्ये आधा संख्यामा सार्वजनिक सवारीका यात्रु हुने गरेका छन । सार्वजनिक सवारीमा यात्रा खुला गर्दा पनि संक्रमण बढाउन बल पुगेको बरालले बताए । ‘दिनमा झन्डै ५० जना ओपीडिमा आएका छन । ती मध्ये आधा बिरामी सार्वजनिक सवारीमा यात्रा गरेका छन । सार्वजनिक सवारीका कारण पनि अहिले जोखिम बढिरकेको छ,’ उनले भने । बजार पनि खुलमखुला हुँदा जोखिम थपिएको छ । बजारमा अहिले भीडभाड पहिलेकै आकारमा भइसकेको उनले बताए । ‘यतिसम्मकी नागरिकले मास्क पनि नलगाई हिड्न थालेका छन । यो जत्तिको वेवास्ता केही हुन सक्दैन’ उनले भने । उनका अनुसार पछिल्लो एकसातादेखि यहाँको संक्रमणको अवस्था स्थिर छ । तर, मृत्युदर घट्न भने नसकेको उनले बताए ।

गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्मा पनि अवस्था अझै डरलाग्दो रहेको बताउँछन । उनले पनि अझै मृत्युदर कम नहुँदा अवस्था जोखिमपूर्ण रहेको बताए । शर्मा भन्छन्, गण्डकीमा अझै पनि मृत्युदर घटेको छैन । कुनै दिन त राष्ट्रिय आँकडाको आधा संख्या गण्डकीको हुन्छ ।’ उनका अनुसार मृत्युदर नघट्दा त्रास उत्तिकै छ । नागरिकको हेलचेक्रयाइँ रहिरहँदा दिनहुँ ज्यान जानेको संख्या बढिरहेको छ । ‘झन्डै दुईवर्ष भयो, कोरोनाबाट बच्न मास्क लगाउनुपर्छ भनेको, तर, अहिले मास्क लगाउन छाडेका छन,’ उनले भने, ‘हेलचेक्रयाँइ बढी नै छ । मास्क समेत लगाउँदैनन । मास्का लगाएपनि सही तरिका अपनाएका छैनन ।’

प्रकाशित: १० भाद्र २०७८ १२:०६ बिहीबार

गण्डकी प्रदेश कोरोना मृत्युदर