समाज

महानगर आवास योजना : सुकुम्वासीको घर निर्माण सुरू

सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगरमा-१२ मा सुकुम्वासीहरूको घर निर्माण थालिएको छ। महानगर आवास परियोजनामार्फत् सुकुम्वासीहरू आफैंले खरिद गरेको जग्गामा घर निर्माण सुरू गरिएको हो।

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको अगुवाईमा विराटनगरमा सञ्चालनमा ल्याइएको महानगर आवास योजनाअन्तर्गत सुकुम्वासीका घर निर्माण सुरू गरिएसँगै आवश्यक स्रोत जुटाउने अभियान पनि थालिएको छ।

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक कार्कीले घर निर्माणको काम सुरू गरिसकिएको जानकारी दिए। उनले बस्तीमा विद्यालय, खानेपानी, शौचालय, सडकलगायतका सबै खालका पूर्वाधार तयार पारिने बताए। नेपालकै नमूना बस्ती भएकाले यो परियोजना सरकारलाईसमेत चुनौति भएको उनको भनाइ छ। ‘नेपालका सुकुम्वासी समस्या समाधान गर्न थुप्रै आयोग बने, सरकारले धेरैपटक एकीकृत बस्तीको अवधारणा अघि सारे पनि परिणाममुखी काम हुन सकेको छैन,’ उनले भने ‘ यो आयोजना सरकारका लागि समेत चुनौति बन्नेछ।’ विराटनगरमा सुकुम्वासीसँगको सहकार्य र विभिन्न निकायको सहयोगमा नमूनाका रुपमा सुरू गरिएको आवास योजना दुई महिनाभित्रै सम्पन्न हुने कार्कीले दाबी गरे। उनले भने, ‘यहि वर्षको लक्ष्मी पूजाको दिन आवास आयोजनाले निर्माण गरेका सबै घरमा बत्ती बल्नेछन्।’  

आवास योजनाअन्तर्गत बन्ने एकीकृत बस्तीका लागि दाताहरूलेसमेत समिति नै बनाएर रकमको जोहो गर्न थालेका छन्। महानगर आवास योजनाले बुधबार पत्रकार सम्मेलन गरी एकीकृत बस्ती निर्माणका लागि स्रोत अभाव नहोस् भन्ने उद्देश्यले स्रोत जुटाउने अभियान थालिएको जनाएको छ। अभियानलाई सहयोग गर्ने दाताहरूले सम्पन्न बस्ती विकास समिति गठन गरी महानगर आवास योजनालाई सहयोग जुटाउन थालेका हुन्। समितिको संयोजकमा अरुण न्यौपाने रहेका छन्।  महानगर आवास योजनालाई विराटनर महानगरपालिकाले पनि प्राथमिकतामा राखेको विराटनगर महानगरपालिका सामाजिक महाशाखाका फोकल पर्सन पुनम दाहालले बताए। उनले बस्तीको पूर्वाधार निर्माणका लागि महानगरपालिकाले  १ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। यतिमात्रै हैन, खानेपानी, ढल व्यवस्थापन, वृक्षरोपणलगायतका कामका लागि विभिन्न निकायसँग समन्वय पनि गरेको दाहालले बताए।  

योजनाको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायतले चैत २५ गते शिलान्याश गरेका थिए।

विराटनगर –१२ स्थित मलंगवा वस्ती व्यवस्थित गर्ने उद्देश्यले सो बस्तीका १ सय ४५ सुकुम्वासी परिवारलाई घडेरीको लालपुर्जा प्रदान गरिसकिएको छ भने घर निर्माणको काम पनि थालिएको छ। सुकुम्वासीलाई घर बनाउन टिन, फलामको डण्डी, चामल आलु लगाएका खाद्यान्न बाँडे पनि उनिहरू सुकुम्वासीको सुकुम्वासी नै रहेकाले उनिहरूकै कमाइबाट घर घडेरीको व्यवस्थापन गर्ने आयोजना अघि सारिएको हो। सुकुम्वासीलाई घडेरी उपलब्ध गराउन जीवन विकास समाजबाट ऋण लिएर विराटनगर–१२ मा ६ करोड ८८ लाख रुपैयाँमा जग्गा खरिद गरिएको थियो।

प्रकाशित: ९ भाद्र २०७८ १३:१७ बुधबार

सुकुम्वासी नेपाली काँग्रेस