समाज

अस्पतालको शौचालयमा पुरुष मृत फेला

विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा मंगलबार दिउँसो एक पुरुष मृत फेला परेका छन्।मृत फेला परेका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको मोरङ प्रहरीले जनाएको छ। 

मृतक पोखरेलको हातमा सुनसरी जिल्ला अस्पताल इनरुवाको ओपिडी पूर्जा बोकेको अवस्थामा अस्पतालको ओपिडी भवनको शौचालयमा दिउँसो डेढ बजेतिर शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

मृतकले अस्पतालको पूर्जा बोकेका कारण पहिचान गर्न सहज भएको हो। शौचालयमा घोप्टो परेर लडेको अवस्थामा पोखरेललाई फेला पारिएको र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। डिएसपी श्रेष्ठले मृतकको साथमा रहेको पूर्जाका आधारमा सुनसरी अस्पतालबाट थप उपचारका लागि कोसी आएको हुनसक्ने देखिन्छ।  

शौच गर्न जाँदा लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ भने मृतकका साथमा मधुमेहलगायतका रोगका औषधि फेला पारेको छ। कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्। शवलाई पोस्टमार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०७८ ११:०८ मंगलबार

अस्पतालको शौचालयमा पुरुष मृत फेला