समाज

बाढीले खोरिया गाउँ नै बगाउने खतरा

२ हजार बिघा जमिन बगरमा परिणत

यशोधरा गाउपालिका–८ खोरियामा बाणगंगानदीले कटान गरेको क्षेत्र। तस्बिर:नागरिक

जिल्लाको यशोधरा गाउँपालिका–८ को खोरिया गाउँ बाणगंगामा आएको बाढीले कटान गर्दा गाउँ नै बगाउने खतरा बढेको छ। बाणगंगा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो। २ सय ४० घरधुरी रहेको गाउँमा नदी कटान ठूलो समस्याकोरुपमा देखा परेको छ। ४० वर्षअघि सम्म पश्चिमतर्फ रहेको नदीको बहाव अहिले गाउँको एकदमै नजिक पुगेको छ।  

नदीले गाउँलाई छुन १० देखि १५ मिटर भन्दा कम छ। कटानलाई रोक्न कच्ची बाँध छ। त्यस भन्दा तल कटान रोक्न नदीको पूर्व पट्टी तटबन्ध निर्माण गरिएको छ। वर्षौदेखि स–सानो प्याकेजमा तटबन्ध निर्माण गरिएको छ। तत्कालीन जल उत्पन्न प्रकोप कार्यालय लगातयका निकायले स–सानो प्याकेजका नाममा खोरियाकालागि लक्षित गरी ८ करोड बढी रकम खर्च गरि सकिएको तत्कालीन शिहोखोर गाविसका अध्यक्ष तथा गाउँका अगुवा मानुल्लाह मुसलमानले बताए।  

‘पटक पकट गरी ५ सय मिटर तटबन्ध निर्माण गरि सकिएको छ तर कटानको समस्या भने समाधान हुन सकेको छैन ’ उनले कटान भएको क्षेत्र देखाउँदै भने ‘ ठोस योजनासहीत छिट्टै नदी नियन्त्रणको काम गरिएन भने खोरिया गाउँलाई अब बचाउन मुस्किल छ।' नदीले बहाव परिवर्तन गर्दै पूर्वतर्फ गए पछि ४० वर्षको अवधिमा २ हजार बिघा खेतीयोग्य जमिन पनि नदीले खाएको उनले बताए। ‘गाउका सबै जसोको धेरै थारै जमिन नदीले बगाएको छ।’ उनले भने ‘नदीले कटानले गर्दानै बस्ती समते तीन चार चोटी सारिएको छ।' अधिकाश बिपन्न परिवार रहेको गाउँमा नदी कटानले खेत बगर बनाए पछि गाउलेहरु समस्यामा परेको बताउँछन्।  

नदीका कारण ५० बिघा खेत गुमाएका जमिरल्लाह मुसलमानले नदी कटान आफ्नोलागि अभिसाप बनेको बताए। ‘भएको खेत जति सबै नदीले खायो, थोरै मात्र बाँकी छ परिवारको गुजारा चलाउन पनि मुस्किल बनेको छ’ उनले दुःखी हुँदै भने। बाढीले २५ बिघा खेत बगर बनाए पछि गाउँलाई नै गरिब बनाएको बताए। ‘उर्भर जमिन जति सबै नदीले बालुवा बनायो, खान लाउन पनि समस्या परेको छ ’ उनले भने। बनाईएको तटबन्ध भत्काउन थाले पछि गाउँलेहरु त्रसित बनेका छन्। नदीको बहाव बस्तीतर्फ च्याप्दै गए पछि गाउँलेहरु डराएका छन्। तटबन्ध नरहेको दक्षिणतर्फ नदीले धमाधम कटान गर्न थालेको छ।

यशोधरा गाउँपालिकाका प्रमुख गिरीजशे पाण्डेयले उच्च जोखिममा रहेको खोरिया गाउँलाई बचाउन आफुले सक्दो पहल गर्ने बताए। ‘यस बारे संघीय र प्रदेश सरकारलाइ ध्यानाकषर्ण गराउँछु ’ उनले भने। नदी कटानको समस्या बारे कसैले चासो नदिएको गाउँलेहरु गुनासो गर्छन्। 

‘हामी भगवान् भरोसे छाैं उनैको साहारा छ, ’उनीहरु दुःखी हुँदै भन्ने गरेका छन्। यसबीच प्रजिअ चक्रपाणी पाण्डेयको अगुवाईमा खोरियामा नदीले कटान गरेको क्षेत्रमा अनुगन गरिएको छ। प्रजिअ पाण्डेयले खोरियामा नदी कटानले गर्दा गदौ गाउ जोखिममा परेको बताए। उनले यस विषयमा गृहमन्त्रालयमा लेखेर पठाएको बताए। उनले खोरियामा गाउँलाई  बचाउन चाँडै तटबन्ध आवश्यक रहेको बताए। 

प्रकाशित: ८ भाद्र २०७८ १०:२० मंगलबार

बाढीले खोरिया गाउँ बगाउने खतरा