समाज

कुलमानविरुद्धको रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्ने

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफैंले हेर्ने भएका छन्। निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति खारेजको माग गर्दै हालेको रिट मंगलबार पेशी तोक्ने क्रममा जबराले आफ्नैमा राखेका हुन्।

शाक्यले कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाँउ’ भन्दै साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाँउ’ भन्ने माग गरेका छन्। रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

भदौ २ मा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाई हुनेगरी पेशी तोकिएपनि पालो नआउँदा सुनुवाई हुन सकेको थिएन। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ।

प्रकाशित: ८ भाद्र २०७८ ०६:०४ मंगलबार

नेपाल विद्युत प्राधिकरण निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा