समाज

मकैबारीमा महिलाको शव भेटियो

मोरङको छुट्टाछुट्टै स्थानमा दुई महिलाको मृत्यु भएको छ। मृत अवस्थामा एक महिलाको शव मकैबारी भेटिएको छ भने अर्की महिलाको लडेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

मोरङको बेलबारी नगरपालिका–११ की ५८ वर्षीया कविता बुढाथोकी आइतबार साँझ घर नजिकको मकैबारीमा मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। बारीमा मृत अवस्थामा महिलाको शव देखेपछि स्थानीयले खबर गरेको प्रहरीले जनाएको छ।  

उनी बुढाथोकी परिवारका सदस्यबाट अलग भएर घरमा एक्लै बस्दै आएकी हुँदा घटना कसरी भएको भन्ने बारे प्रहरीले अनुसन्धान थाली सकेको जनाएको छ। शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको र त्यहाँबाट आएको रिपोर्टलगायत कुराबाट मृत्युको कारण खुल्न सक्ने डिएसपी श्रेष्ठले बताए।  

त्यस्तै केराबारी गाउँपालिका–५ याङशिलाकी २६ वर्षीया टीकामाया राई (लिम्बू) को आइतबार साँझमा मृत्यु भएको छ। घरकै शौचालयमा लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७८ १०:२५ सोमबार

महिलाको शव भेटियो