समाज

नौ वटा भारतीय मोटरसाइकल भन्सार चलान

कोरोना भाइरस संक्रमण रोकथामको लागि बन्द गरिएको नेपाल–भारत सीमामा औपचारिक रुपमा सवारी आवागमन सुरु नभए पनि भारतीय मोटरसाइकलहरु गैरकानूनी रुपमा नेपालतर्फ भित्रिन भने रोकिएको छैन। 

बिभिन्न मितिमा प्रहरीले नियन्त्रणमा लिएका यस्तै ९ वटा मोटरसाईकल जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार वीरगन्ज भन्सार कार्यालय चलान गरेको छ। सीमा आरपार रहेको नाता सम्बन्धमा आउन जाने, ब्यापार धन्दा गर्नेहरु र घुमघाम आदी प्रयोजनले आउने मानिसहरु सवारी साधनको रुपमा प्रयोग गरी लिएर भित्रिने गरेका छन्।

सामान्य अवस्थामा वीरगन्ज नगरक्षेत्रमा भारतीय सवारी साधन भन्सारमा लिखित ‘इन्ट्रि’ लिएर आउने गरेकोमा अहिले सीमा बन्द रहेकोले त्यसरी वैध तरिकाले सवारीहरु आउन सकेका छैनन्। त्यसरी आएका भारतीय मोटरसाइकल प्रहरीले कानून अनुसार नियन्त्रणमा लिने गरेको छ। भारतीय सवारी साधनको नेपालमा अवैधानिक किसिमले प्रवेश सुरक्षा र राजश्व लगायतसंग जोडिएको विषय भएको प्रहरी अधिकृतहरु बताउँछन्।  

नेपाल र भारतमा मानिसहरुबीच, ब्यक्तिगत, सामाजिक र ब्यापारिक स्तरहरुमा सम्बन्ध रहेको र अहिले घुमफिर औषधि उपचार लगायत प्रयोजनले आवगम बाध्यता रहेको मिडिया फोर बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी बताउँछन्। ‘मोटरसाइकल नियन्त्रणमा लिएर भन्सार बझाउने काम प्रहरीले गरेको छ,’ तिवारीले भने, ‘यसमा प्रहरीलाई भन्ने कुरा केही छैन। सरकारले सीमााई बुझेन, यहाँ जनतालाई बुझेन। सबै आवागमन भएकै छ, तर अनौपचारिक।’ उनले नियमनसहित सीमा खोलिनुपर्र्ने बताउँछन्।  

‘सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा विभिन्न मितिमा कागजपत्र नभएका ९ वटा भारतीय मोटरसाइकलहरूलाई यस कार्यालय तथा मातहतबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले नियन्त्रणमा लिएकोमा उक्त मो.सा.हरूलाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको व्यहोरा सूचित गरिन्छ,’ जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तीमा भनिएको छ। 

त्यसमा उल्लेख भए अनुसार भन्सार पठाईएका पल्सर, सिबिजेड, सुपर स्प्लेन्डर, स्प्लेन्डर, प्यासन र टिभिएर ब्राण्डका मोटरसाइकलहरुको समग्रमा पाँच लाख नब्बे हजार मूल्य जिल्ला प्रहरीले आँकलन गरेको छ।

प्रकाशित: ३ भाद्र २०७८ १३:३६ बिहीबार

भारतीय मोटरसाइकल भन्सार चलान