धादिङमा आगामी असोज ११ गते विश्व पर्यटन दिवसको दिन फोटो प्रतियोगिता आयोजना हुने भएको छ। फोटो पत्रकार संघ धादिङले पाँच विधामा प्रतियोगीताको आयोजना गरेको हो। डेली लाइफ, कला संस्कृति तथा धर्म, पर्यटन, महिला तथा बालबालिका र आर्थिक विधामा प्रतियोगिताको आयोजना गर्न लागिएको बताइएको छ।
प्रतियोगितामा धादिङ जिल्लाभित्र खिचिएको फोटो मात्र समाबेश हुने र फोटो खिच्ने व्यक्ति भने जिल्ला बाहिरको भएपनि मान्य हुने बताइएको छ। फोटो मूल्याङ्कन गर्दा कृषि, पर्यटन, कला साहित्य, संस्कृति, र जिल्लाका ऐतिहासिक महत्व बोकेका दृष्यहरुलाई बढी प्राथमिकता दिईने फोटो पत्रकार संघ धादिङका अध्यक्ष मनिष दुवाडीले जानकारी दिए। फोटो आगामी असोज ३ गतेसम्म पठाइसक्नुपर्ने उनले बताए।
प्रतियोगितामा पठाइने फोटो मोबाइल वा क्यामरा दुवैले खिचेको मान्य हुने, न्यूनतम १ एमबिसम्मको र जेपिजे फरम्याटमा हुनुपर्ने तथा सेल्फी फोटो भने स्वतः रद्द हुने बताइएको छ। प्रतियोगिताका लागि एक सहभागीले प्रत्येक विधामा एउटा मात्रै फोटो पठाउन पाइनेछ भने फोटो असोज ३ गतेसम्म पठाउनु पर्नेछ। फोटो पठाउँदा कुन विधाको लागि पठाइएको हो, विधा उल्लेख अनिवार्य गर्नुपर्नेछ।
स्कोरको आधारमा हरेक विधामा उत्कृष्ट भएको एउटा फोटोलाई पुरस्कृत गरिनेछ। प्रतियोगितामा प्रत्येक विधाका विजेतालाई नगद बीस हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ। संस्थाले यसअघि पनि फोटो प्रतियोगिताको आयोजना र फोटोग्राफी तालिम संचालन गरेको थियो।
प्रकाशित: ३ भाद्र २०७८ १३:१७ बिहीबार