समाज

गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा

सरकारले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका नेवार समुदायसँगै उपत्यकामा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यस्तै, नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए।  

त्यस्तै भदौ १४ गते श्रीकृष्ण जन्मष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको गरिएको प्रवक्ता कार्कीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरुको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ। 

त्यसैगरी सहसचिव डिल्लीराम शर्मालाई विशिष्ट श्रेणिमा बढुवा गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए।  

मन्त्रिपरिषद्ले सिँचाइ र ऊर्जा मन्त्रलयका केही बरिष्ठ इन्जिनियरहरुलाई द्धितिय श्रेणीबाट प्रथम श्रेणीमा बढुवा गरेको पनि उनले जानकारी दिए।

प्रकाशित: ३ भाद्र २०७८ १२:५५ बिहीबार

गाइजात्रा नेवार समुदाय सार्वजनिक बिदा