समाज

पहिरोले पुरिँदा एकै घरका ४ जनाको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा एकै घरका ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बुद्धि तामाङको ३२ वर्षीया श्रीमती कमला, ११ वर्षीय छोरी सोकिता, ८ वर्षीया छोरी सुकुमाया र ७ वर्षीय छोरा आसिसको मृत्यु भएको हो।  

बाहिर सुतिरहेका ३५ वर्षीय बुद्धि तामाङ गम्भीर घाइते भएका छन्। उनलाई बिहीबार बिहान नुवाकोटको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचार गरेर काठमाडौं रिफर गरिएको छ। जेरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा सडक खन्दा पहिरो गएको स्थानीयले बताएका छन्। उनको ६ जनाको परिवार थियो।  

उनका अर्का छोरा मामाघरमा बस्दै आएका छन्। उनको परिवारले कृषि तथा ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएका थियो। मृत्यु भएकाहरूको पोष्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको छ।

प्रकाशित: ३ भाद्र २०७८ १०:४४ बिहीबार