समाज

माथिल्लो तामाकोसी बनाएको विदेशी ठेकेदारलाई घर फर्किन सिडिओ कै अवरोध

दोलखाको लामावगर स्थित माथिल्लो तामाकोसीको कार्यालय । तस्बिर : रमेश/नागरिक

११ वर्ष लगाएर माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरी घर फर्किन खोजेको विदेशी ठेकेदार कम्पनीलाई आयोजनास्थलबाट फर्किन विभिन्न समूहसंगै प्रशासन र सिडिओले नै अवरोध गरेका छन्।

१२ वर्षसम्म आयोजना निर्माणमा खटिदा प्रयोग भएका आफ्ना सवारी साधन, उपकरण र मेसिन औजारसहित कानुनी प्रक्रिया पुर्‍याएर आयोजनास्थलबाट फर्किन खोज्दा प्रमुख जिल्ला अधिकारीको आदेशमा दोलखा प्रशासनसंगै विभिन्न व्यक्ति समूहका नाममा अवरोध भएको भन्दै सिभिल तर्फको चिनिया ठेकेदार कम्पनी सिनो हाईड्रो कर्पोरेशनले माथिल्लो तामाकोसी आयोजना मार्फत गृह मन्त्रालयमा उजुरी गरेको छ।  

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले साउन ११ गते जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी ठेकेदार कम्पनीका आफ्ना उपकरण, सवारी साधन र मेसिन औजारसहित कम्पनीका आफ्नो सम्पत्ति उसले चाहेको बखत लैजान बिभिन्न समूह साथै स्वयं प्रहरी प्रशासनकै नाममा अवरोध भएको भन्दै सुरक्षा माग गरेको थियो। पत्रमा ठेकेदार कम्पनीको उपकरण, सवारी साधन र सामग्री परामर्शदाताको सिफारिसमा आयोजनाले प्रमाणित गर्ने कारण विना अवरोध बाहिर लैजाने व्यवस्था गरिदिनका लागि आग्रह गरिएको थियो।  

तर माथिको आदेश भन्दै आयोजना स्थलबाट दुई महिना यता ठेकेदार कम्पनीका सामग्री ढुवानी रोकिएको आयोजनाका एक उच्च अधिकारीले जानकारी दिए। ‘आयोजनामा चिनियाँ कम्पनीले जिम्मा लिएको सिभिल तर्फको काम सकेर दुई महिनादेखि आफ्ना सवारी साधन, उपकरण र मेसिन अन्यत्र लग्नका निम्ती वातावरण बनाई पाउँ भनेर उसले बारम्बार आग्रह गरिरहेको छ’, ति अधिकारीले भने, ‘ठेकेदार कम्पनीका करोडौं मूल्यका सामान लैजान पाउँ भनेर ताकेता गरिरहेपनि दोलखामा बिभिन्न समूहका नाममा ‘बार्गेनिङ’ गरेर दुःख दिने काम चलिरहेको छ, त्यहीं माथि ‘सिडिओ’ को आदेश भन्दै ठेकेदारको सामान सबै साईटमै रोकिनुले अचम्मित भएका छौं।’

‘चिनियाँ कम्पनीले तनहुँ र नुवाकोटमा बनाईरहेको आयोजनाको आफ्नो साईटमा आयोजनास्थलमा रहेका ब्याचिङ प्लान्ट, मेसिन, डोजर, ट्रिपर, लोडर, ट्रकसहित २९ थरीका सामान लैजान पटक पटक आग्रह गरेपछि हामीहरुले प्रमाणित गरेर पठाईदिन खोज्यौं’, ति अधिकारीले भने, ‘तर के स्वार्थले हो, प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै प्रहरीले रोक्दै आएको छ।’ यस्तै विभिन्न समूहका नाममा समेत ठेकेदारलाई आयोजनास्थलबाट फर्किन अवरोध भईरहेको उनले बताए।

आयोजना स्थल लामावगरदेखि सिंगटी र चरिकोटसम्म विभिन्न समूहका नाममा अवरोध भईरहेको भन्दै सुरक्षा दिन आयोजनाले प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ। अवरोध गर्ने समूहहरुले ठेकेदारका बाँकी सामान ढुवानीको काम माग गर्नुका साथै आयोजनास्थलमा ठेकेदारको साईटमा निस्किने कवाडी र अन्य सामग्रीहरुमा चर्को ‘बार्गेनिङ’ गर्ने गरेको सिनो हाईड्रोका एक प्रतिनिधिले बताए। 

विदेशी ठेकेदार कम्पनीको करोडौं मूल्यको सामानमा जिल्ला स्थित राजनीतिक दलका नेतृत्व, बिभिन्न युवा समूहका नाममा लामावगरदेखि सिंगटी र चरिकोटसम्मै चर्को ‘बार्गेनिङ’ संगै दबाब दिन थालिएको छ। यसमा जिल्लाका सांसद, नेता र तरुण दल, युवा संघ साथै वाईसिएलसम्मले प्रत्यक्ष चासो देखाउने गरेका छन्। आयोजना स्थलबाट ठेकेदार कम्पनीका सामान हिँड्न थालेपछि बिभिन्न समूह बनाएर उनीहरुले सदरमुकाम चरिकोटसम्मै अवरोध पुर्‍याउने गरेका छन्।  

आयोजना तर्फको आफ्नो कवाडी प्रक्रिया पुर्‍याएर लिलाम बिक्रीमा निकाल्ने नियम भएपनि आयोजनामा काम गरेको ठेकेदार कम्पनीले आफ्ना सामान उपकरण साथै निस्किएको कवाडी प्रक्रिया पुर्‍याएर आफैं बिक्री गर्न पाउने आयोजनाले जनाएको छ। स्रोतका अनुसार ठेकेदारको यही करोडौं मूल्यको सामानमा प्रशासनसहित पहुँचवालाले ‘बार्गेनिङ’ गरिरहेका छन्।      

‘हुल हुज्जत गरेर अवरोध भईरहेकाले शान्ति सुरक्षासहित ठेकेदारलाई जाने प्रबन्ध मिलाईदिनुस भनेर आग्रह गर्दा समेत प्रशासनले उल्टो अवरोध गर्दै आएको छ’, आयोजनाका ति अधिकारीले भने। सामान लैजान प्रशासनकै अवरोध भएपछि ठेकेदार पक्षले आयोजना मार्फत गृह र उर्जा मन्त्रालयमा उजुरी दिएको छ।  

आयोजनामा काम गरेको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रोका २० ओटा ट्रक, १० ओटा ग्राउटिङ मेसिन, २ ओटा ठूल्ठूला ब्याचिङ प्लान्ट लगायत ठूला उपकरण आयोजना स्थलमै रहेको जानकारी यसअघि नै जिल्ला प्रशासनलाई आयोजनाले पठाएको थियो। सिनो हाईड्रोले माथिल्लो तामाकोसीको आफ्नो साईटबाट उपकरण, सवारी साधन तथा सामग्रीहरु तनहुँ जलविद्युत आयोजना, माथिल्लो त्रिशुली ए र सान्जेन खोला आयोजनामा लैजाने तयारी गरेको थियो।  

‘ठेकेदारको सामान र हाम्रो कवाडी स्पष्ट छ’

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको स्वामित्व रहने कवाडी र ठेकेदारको निजी सम्पत्तिबारे आयोजना स्पष्ट रहेको दाबी गरे। ‘आयोजनाको स्वामित्व रहने कवाडी छुट्टै छ, त्यसको प्रक्रिया आयोजनाले लिलामी निकालेर टेण्डर गर्छ’, उनले भने, ‘यहाँ ठेकेदार कम्पनीको आफ्नो सामान लैजान पाउनुपर्ने जो माग दाबी उसले गरेको छ, उसका सामान र निर्माण उपकरण साथै मेसिनहरु परामर्शदाताले चेकजाँच गरी उसको सिफारिसमा आयोजनाले पुनः प्रमाणित गरेर लैजाने अनुमति दिन्छ।’ त्यसका निम्ती आयोजनाले सबै प्रक्रिया पूरा गर्दै आएको जिकिर श्रेष्ठको थियो।  

‘अवरोध गरेका छैन’

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले माथिल्लो तामाकोसी आयोजनाको ठेकेदार कम्पनीलाई आयोजना स्थलबाट फर्किन आफूले कुनै अवरोध नगरेको जिकिर गरे। ‘मैले कसरी अवरोध गर्न सक्छु, कुनै पनि गाडी रोकिएका छैनन्’, उनले भने, ‘ठेकेदार कम्पनीलाई अफ्ठेरो परेको छ या सामान लैजादा शान्ति सुरक्षाका हिसाबले कुनै समस्या पर्‍यो भने प्रशासनले सुरक्षा दिन्छ, तर सामान नै हिँड्न रोकेको छैन।’  

जिल्लाका प्रहरी प्रमुख भेषराज रिजालले प्रहरीले ठेकेदारको सामान साईटबाट हिँडाउन कुनै अवरोध नगरेको दाबी गरे।  ‘सुरक्षा चाहिएको हो भने उहाँहरुले भन्नुपर्‍यो नि’, उनले भने, ‘हामीले मात्र कसरी रोक्न सक्छौं र।’ रिजालले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अनुमति लिएर हिँडेको वा अनुमति विनै हिँडेको भनेर प्रहरीले ट्रकहरुका कागजात चेकजाँच मात्र गरेको स्पष्ट पारे।

प्रकाशित: २ भाद्र २०७८ १४:४८ बुधबार

माथिल्लो तामाकोसी विदेशी ठेकेदार