समाज

चेपाङ किशोरीहरुको लागि छात्राबास निर्माण

गजुरीमा निर्माण गरिएको चेपाङ किशोरीका लागि निर्माण गरिएको छात्रावास भवन। तस्बिर: नागरिक

धादिङको गजुरी गाउँपालिका वडा नं २ छेपाङकी सुस्मिता चेपाङ गजुरीस्थित चेपाङ छात्रावासमा बस्छिन्। दुई वर्षअघि मात्र पढ्नकै लागि छात्राबास आएकी उनी अहिले आर्दश मावि गजुरीमा कक्षा १० मा पढ्दै छिन्। टाढा विद्यालय, घरायासी कामको बोझले गाउँमा हुदाँ पढाईमा बाँधा पुगेपछि छात्रावास आएकी थिइन्। 

‘गाउँमा हुदाँ विद्यालय टाढा थियो, हिडेर जान गाह्रो हुन्थ्यो, पढाई पनि त्यति राम्रो हुदैनथ्यो,’ उनले भनिन्, ‘मेलापात, घरायासी कामको बोझले पढाई तिर त्यति ध्यान नै जादैन्थ्यो।’  सुस्मिताको ७ जनाको परिवार धान्न उनका आमाबुबालाई हम्मे छ। पाँच जना छोराछोरीको पढाई धान्न मुस्किल हुने गरेको उनले सुनाइन्। ‘परिवारमा आर्थिक समस्या छ, घरव्यवहार धान्न समेत सुस्किल छ, पढाईमा जेनतेन पुर्‍याइरहनु भएको छ, उनले भनिन्,  ‘दाई एक्कासी बिरामी भएपछि खर्च धान्न नसकेर पढाई छाड्नुपर्ने अवस्था सिर्जना भयो तर चेपाङ छात्राबासमा निशुल्क बस्ने व्यवस्था छ भन्ने सुनेपछि आएकी हुँ। छात्राबासमा साथीहरुसँग भेटघाट, नयाँ नयाँ विषयमा जानकारी, नियमित विद्यालयमा जाने, नियमित पढ्ने बानीको विकास भएको उनले सुनाइन्।

गजुरी गाउँपालिका वडा नं ३, तार्केकी कविता चेपाङले पनि पाँच वर्ष छात्राबासमै बसेर एसइइसम्मको पढाई सकेकी छिन्। आर्थिक अभावकै बाबजुत पनि उनको परिवारले उनलाई जेनतेन पढाइरहेकी छन्। कक्षा ५ सम्मको पढाई जसोतसो गाउँमै सकेकी उनले त्यसपछि एसईईसम्मको पढाई आर्दश मावि गजुरीबाट सकिन। पाँच वर्ष छात्राबासमा निशुल्क बसेर पढ्न पाउदाँ खुसी लागेको उनले बताइन्। ‘गाउँमा हुदाँ घरको कामले गर्दा पढ्न जान पाउँदैनथ्यो, पढाई पनि त्यति हुदैन्थ्यो,’ उनले भनिन्, ‘यहाँ आएपछि नियमित पढाई, नियमित विद्यालय भएको छ, नयाँ कुराहरु सिक्ने मौका पाएका छौँ, घरमा भन्दा धेरै सहज छ।’  

सुस्मिता र कविता जस्तै दक्षिणी धादिङको  १७ जना चेपाङ किरोशीहरु छात्राबासमा छन्। सिमान्तकृत चेपाङ समुदायका किशोरीहरुको शिक्षामा सहयोग पुर्‍याउनको लागि धादिङको गजुरीमा अहिले सुविधा सम्पन्न छात्राबास निर्माण गरिएको हो। आर्थिक अवस्था कमजोर, विद्यालय टाढा हुनु, गुणस्तरीय पढाई नहुनु लगायतका विविध समस्याले पढाई छोड्न बाँध्य रहेका किशोरीहरुलाई छात्राबास निर्माणपछि सहज भएको छ।

गजुरी गाउँपालिका वडा नं १ को हाँगेटारमा चेपाङ किशोरीहरुको लागि निर्माण गरिएको आवासिय चेपाङ छात्राबास निर्माण सम्पन्नको चरणमा छ। ३६ जना क्षमताको रहने छात्रावासको जिल्ला समन्वय समिति, गजुरी गाउँपालिका र नेपाल चेपाङ संघ धादिङको समन्वयमा प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा निर्माण गरेको हो।  

गजुरी गाउँपालिका वडा नं ३, तार्केकी अप्सरा चेपाङ पनि छात्राबासमा बसेर पढ्न पाउदाँ खुसी लागेको सुनाइन्। ‘गाउँमा पढाईमा त्यति ध्यान जाँदैनथ्यो, पढाई पनि राम्रोसँग हुँदैनथ्यो, छात्राबासमा आएपछि पढाईमा ध्यान जाने, बाहिरी क्रियाकलापहरुमा पनि सहभागी हुन थालेकी छु’ उनले भनिन्, हामी जस्ता किशोरीहरुका लागि छात्राबास एउटा घर भएको छ, खेल्ने सााथी, पढ्ने साथी पाएका छौँ, राम्रो अवसर प्रदान भएको छ, खुसी छु।’ छात्राबास निर्माण पश्चात किशोरीहरुको शिक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ।  

दुर्गम भुगोलका शिक्षाबाट बञ्चित, आर्थिक अवस्था कमजोर भएका किशोरीहरुका लागि छात्राबास निर्माण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए। ‘छात्राबास भवन निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ, निर्माण सम्पन्न गर्न एक करोड १५ लाख लाग्ने अनुमान गरेका छौँ,’ अर्यालले भने, ‘छात्रावासले चेपाङ किशोरीको शैक्षिक विकासमा उल्लेख्य सुधार ल्याउने विश्वास गरेका छौँ। साढे ४ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न छात्राबास भवनमा भान्सा तथा डाईनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पाले घर निर्माण गरिएको उनले बताए।  

दक्षिणी धादिङको महाभारत पर्वत श्रृंखलामा सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको छ। विकट क्षेत्रमा उच्च शिक्षा हाँसिल गर्न आउदा हुने बसाइ ब्यवस्थापन सहज बनाउन, चेपाङ किशोरीहरुको शैक्षिक विकासमा सहयोग पुर्‍याउनको लागि सहकार्य गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए। ‘भौगोलिक रुपले बिकट स्थानबाट उच्च शिक्षाको लागि आएका चेपाङ किशोरीहरुको शिक्षामा सहयोग हुने अपेक्षा लिएका छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘भवन निर्माण पश्चात पनि किशोरीहरुको लागि शैक्षिक विकासमा सहयोग गरी शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण अभियानमा सहकार्य निरन्तर रहनेछ।’

.छात्राबासमा चेपाङ किशोरीहरु।

प्रकाशित: २ भाद्र २०७८ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App