समाज

पैदल सम्भव नभएपछि हेलिकप्टर चार्टर

रुविभ्यालीका कर्मचारीले चार्टर गरेको हेलिकप्टर। तस्बिर: सरिता/नागरिक

उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाका वडा सचिवहरु हेलिकप्टर चार्टर गरेर कार्यक्षेत्र पुगेका छन्। पैदल सम्भव नभएपछि हेलिकप्टर मार्फत बुधबार पालिकाको केन्द्र सेर्तुङ पुगेका हुन्। गाउँपालिकाका पाँच जना वडा सचिवहरुलाई काठमाण्डौबाट आएको हेलिकप्टरले धादिङबेसीबाट सेर्तुङस्थित गाउँपालिका कार्यालय पुर्‍याएको हो। पालिकामा रहेको ६ वटा वडा ५ जना सचिवले सम्हाल्दै आएका छन्।  

जिल्ला रुविभ्याली विकट क्षेत्रमा पर्छ। सडक संजालबाट भर्खरै मात्र जोडिदै गरेको भएपनि बर्खा लागेदेखि नै अवरुद्ध छ। सवारी साधन मात्रै होइन मानिस आवातजावतमा पनि समस्या छ। धादिङबेसीबाट किन्ताङफेदीसम्म सवारीसाधन चलेपछि त्यहाँदेखि हिडेर एकदिनमा सेर्तुङ पुगिन्छ। विभिन्न बाहानामा वडा सचिवहरु सदरमुकाम झरेपछि अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण रोकिएको थियो। सोही रकम वितरणका लागि वडा सचिवहरु गाउँ पुगेका हुन्।  

वडा नं. १ र २ कपिल सुवेदीले सम्हाल्दै आएका छन्। वडा नं. ३ मा विकास महर्जन, ४ मा ललिता निरौला, ५ मा सम्झना रिमाल र ६ मा अनुसा राई वडा सचिव छन्। उनीहरु विभिन्न बहानामा गत महिनादेखि नै सदरमुकाम बस्दै आएका थिए। श्रोतका अनुसार वडा नं. १ र २ सम्हाल्दै आएका सुवेदी र वडा नं. ६ का राई परीक्षाको लागि भन्दै एक महिना अघिदेखि सदरमुकाम बसिरहेका थिए। वडा नं. ३, ४ र ५ का वडा सचिवहरु भने एक साताअघि सामाजिक सुरक्षा भत्ता निकाल्न सदरमुकामस्थित बैक आइपुगेको बताइएको छ।  

धादिङबेसीदेखि रुविभ्यालीको सेर्तुङ पुग्न हेलिकप्टरले करिब एक लाख भाडा लिन्छ। वडा सचिवहरुले भने आफुहरुले प्रतिव्यक्ति ११ हजार रुपैँया तिरेर हेलिकप्टर मगाएको वडा सचिव कपिल सुवेदीले बताए। ‘अहिले मोटर बाटो छैन, भत्ताको रकम बोकेर पैदल जान सम्भव छैन,’ वडा सचिव सुवेदीले भने, ‘हिडेर जान जोखिम भएकोले आफ्नै खर्चमा हेलिकप्टरमा गाउँ आएका हौं।’

यता वडा नं. २ का वडा अध्यक्ष पेम्बा घलेले पनि सामाजिक सुरक्षा भत्ता लिएर वडा सचिवहरुले आफ्नै खर्चमा हेलिकप्टर प्रयोग गरेको प्रतिक्रिया दिएका छन्। वडा सचिवहरुले चार्टर गरेको हेलिकप्टरमा रुविभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङ सेर्तुङबाट काठमाडौ गएका छन्।  श्रोतका अनुसार हेलिकप्टर चार्टर गरेको रकम हाललाई वडा सचिवहरु र पालिका अध्यक्षले वेहोर्ने र पछि वडा अथवा पालिकाबाट मिलाउने सहमति भएको छ।  

प्रकाशित: २ भाद्र २०७८ १२:१४ बुधबार

पैदल सम्भव नभएपछि हेलिकप्टर चार्टर रुविभ्याली गाउँपालिका